धरान: किरात राई यायोक्खा वडा कार्यसमिति धरान १३ को नवनिर्मित ‘किराया खिम’ दोस्रो तला भवनको शनिबार उद्घाटन भएको छ।
उक्त भवनको शनिबार धरान उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष नेत्र प्रसाद काफ्लले उद्घाटन गरे । तीन कोठे पक्की भवन १७ लाख लागतमा निर्माण सम्पन्न गरिएको संस्थाका अध्यक्ष सिर्पाल चाम्लिङले जानकारी दिए । उनका अनुसार १४ लाख १३ हजार ८४७ रुपैयाँ विभिन्न दाताहरुबाट संकलन गरिएको हो । करिब साढे दश धुर क्षेत्रफलमा यायोक्खाले एक वर्ष अगाडी सभा हलसहितको पक्की भवन निर्माण गरेको थियो । २२ लाख ५० हजार रुपैयाँ लागतमा निर्माण गरिएको भवनमा धरान उपमहानगरपालिका वडा नं. १३ बाट ८ लाख बजेट विनियोजन गरिएको र बाँकी दाताहरुबाटै आर्थिक संकलन गरेर निर्माण गरिएको थियो ।
आर्थिक सहयोगी ७ जना दाताहरुलाई सम्मान
किराया खिम दोस्रो तला भवन निर्माणमा आर्थिक सहयोग प्रदान गर्ने किराया धरान–१३ का अध्यक्ष सिर्पाल चाम्लिङसहित सात जनालाई सम्मान गरिएको छ । अध्यक्ष चाम्लिङसहित अनेरी सुबेदार मेजर देश बहादुर राई तथा श्रीमती राधा राई र किरात राई चाम्लिङ खाम्बातिमका धरान १३ का अध्यक्ष कुमार राईलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मानित गरियो ।
यस्तै, थाम बहादुर राई, मनु खालिङ, पूर्ण राई र लोटस विद्या विहारकी प्रिन्सिपल सञ्चिता राईलाई पनि किराती संस्सकार अनुसार सम्मानपत्रसहित सम्मानित गरियो । अध्यक्ष चाम्लिङले आफ्नी दिवंगत श्रीमती चन्द्र कला राईको स्मृतिमा ३ लाख १२ हजार ५ सय रुपैयाँ लागत आर्थिक सहयोगमा नवनिर्मित भवनमा एक कोठा निर्माण गरेका छन् । सम्मानित देश बहादुर राईले १ लाख ६० हजार रुपैयाँ लागतमा आफ्नो दिवंगत बुबा–आमा कृष्ण बहादुर राई र हिरादवीको स्मृतिमा स्मृति कक्ष निर्माण गरेका छन् ।
यस्तै, खाम्बातिमाले २ लाख १५ हजार रुपैयाँ लागतमा स्मृति कक्ष निर्माण गरेको संस्थाका सचिब सत्य कुमार राईले जानकारी दिए । उनका अनुसार सम्मानित थाम बहादुर राई तथा परिवारले आफ्नो दिवंगत बुबा दैवकेशर राई, आमा रत्नशरी राई र बहिनी रमा राईको स्मृतिमा ६० हजार १२० रुपैयाँ, मनु खालिङ तथा परिवारले आफ्नो दिवंगत बुबा मणि कुमार खालिङको स्मृतिमा ५४ हजार १५५ रुपैयाँ, पूर्ण राईले ४० हजार रुपैयाँ र लोटस विद्या विहारकी प्रिन्सिपल सञ्चिता राईले २५ हजार रुपैयाँ भवन निर्माणमा आर्थिक सहयोग प्रदान गरेका थिए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी काफ्लेले, किराया केन्द्रीय उपाध्यक्ष दोर्पध्वज राईले सम्मान गरे ।