धरान: मेयर हर्क साम्पाङले धरान उपमहानगरपालिका प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् ।
नेपाल पत्रकार महासंघ सुनसरीको ध्यानाकर्षण पत्रको लिखित जवाफ दिदै उनले यस्तो बताएका हुन् । तर, उनले आधारहीन भ्रामक र पक्षधरतापुर्ण पत्रकारिताको विरुद्धमा रहेको पनि बताएका छन् । मेयर साम्पाङले पत्रकार र सञ्चार माध्यम लक्षित अमर्यादित, अशोभनीय र गालीगलौजपुर्ण भाषामा प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति दिएको भन्दै पत्रकार महासंघ सुनसरीले प्रेस स्वतन्त्रताको सम्मान गर्न भन्दै ध्यानाकर्षण पत्र बुझाएको थियो । तीन दिनको अल्टिमेटमसहित बुझाएको ध्यानाकर्षण पत्रको मेयर साम्पाङले आजै जवाफ दिएका हुन् ।
पत्रकार महासंघले मेयर साम्पाङलाई अमर्यादित र गालीगलौजपुर्ण अभिव्यक्ति फिर्ता लिन पनि आग्रह गरेको थियो । तर, मेयर साम्पाङले जवाफ दिने क्रममा भने उक्त अभिव्यक्ति फिर्ता लिएका छैनन् । उनले सामाजिक सञ्जाल फेसबुकमा झोले पत्रकार भन्दै पत्रकार र सञ्चारमाध्यम लक्षित अमर्यादित भाषामा गाली गर्ने गरेका छन् । साथै, उनका समर्थकहरुले पनि पत्रकारहरुलाई सामाजिक सञ्जालमा जथाभावी गालीगलौज र धम्कीसमेत दिने गरेको छ ।
मेयर साम्पाङको जवाफमा समाजलाई सुसुचित गर्ने र सुधार गर्ने जिम्मेवारी बोकेको पत्रकारले कहिल्यै पनि पक्षधरता लिन नहुने उल्लेख छ । धरान उपमहानगरपालिका प्रेस स्वतन्त्रताको पक्षमा रही आएको तर प्रेस स्वतन्त्रताको नाममा जथाभावी आरोप लगाउने, कसैको चरित्र हत्या गर्ने, अपुष्ट समाचार सम्प्रेषण गरि भ्रम सृर्जना गर्ने छुट पत्रकारलाई पनि नरहेको मेयर साम्पाङको जवाफी पत्रमा उल्लेख छ ।