धरान: सहमति नजुटेपछि धरान १७ वडा कार्यालयमा हुलहुज्जत र अभद्र व्यवहारको आरोपमा पक्राउ परेका तीन जनालाई कानुनी कारबाहीको प्रक्रिया अघि बढेको छ ।
पक्राउ परेका पक्राउ परेका ३५ बर्षीय ललित राई, २४ बर्षीय लाक्पा शेर्पा र ६५ बर्षीय गोविन्द श्रेष्ठलाई छुटाउन पहल भएपनि सहमति जुट्न नसकेपछि कानुनी कारबाहीको प्रक्रिया अघि बढेको हो । ‘जाहेरी आए अनुसार म्याद थपको प्रक्रिया अघि बढेको छ,अभद्र व्यावहारको मुद्दा दर्ता छ,’डिएसपी नवराज मल्लले भने ।
हिजो सोमबार वडा १७ को कार्यालयमा टोल विकास संस्था (टिएलओ)हरुको बैठक भइरहदा क्रान्ति क्रान्ति नामको फेसबुक अकाउन्ट भएका ललित राई लाइभ गर्दै प्रवेश गरेका थिए । वडाअध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)सहितका अन्यले भिडियो नखिच्न भन्दा विवाद भएर हात हालाहालको स्थिति बनेको थियो । सोही घटनाले उग्ररुप लिएपछि प्रहरीले ३ जनालाई पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरुको विरुद्ध वडा १७ का कार्यवाहक अध्यक्ष मनिष विष्टले गालीगलौज, हुलहुज्जत र अभद्र व्यवहारको किटानी जाहेरी दिएका थिए । उनीहरुलाई छुटाउन आज बिहानैदेखि आफन्तजन, मेयर हर्क साम्पाङ र मेयरका समर्थकहरु लागिपरेका थिए । तर, वडा १७ का जनप्रतिनिधिहरुले जाहेरी फिर्ता लिन मानेनन् ।
डाँडाघोपा नमुना टोल विकास संस्थाका अध्यक्ष लिला बुढाथोकीले आइतबार ४१ वटा टिएलओकोतर्फबाट भन्दै किर्ते हस्ताक्षर गरेर ज्ञापन पत्र बुझाउन जानेहरुलाई राजनैतिक सहमतिमा छोड्न नदिइने बताए । उनले पक्राउ परेकाहरु के आधारमा ज्ञापनपत्र बुझाउन गएको भनेर प्रष्ट हुनुपर्ने भएकोले दलहरुले छलफलकै आधारमा पक्राउ परेकालाई छोड्न नमिल्ने अडान राखे । घटनाले उग्ररुप लिएपछि ईलाका प्रहरी कार्यालय क्षेत्रमा मेयर समर्थक र राजनीतिक दलका कार्यकर्ताहरुबीच झडप हुने स्थितिसमेत बनेको थियो । वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु र राजनीतिक दलका नेताहरु पनि प्रहरी कार्यालयमा पुगेका थिए ।