धरान: एक कार्यक्रममा व्यक्त विचारलाई लिएर मेयर हर्क साम्पाङ र उनका समर्थकहरुले धम्क्याउने, गालीगलौज गर्ने गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ ।

प्रेस स्वतन्त्रता दिवसको अवसरमा व्यक्त विचारलाई लिएर मेयर साम्पाङले वयान लिने शैलीमा पटक पटक धम्क्याउने, समर्थकलाई उक्साएर गालीगलौज गर्न लगाउने गरेको भन्दै नेपाल पत्रकार महासंघका पुर्वअध्यक्ष केशव घिमिरेले आयोगमा उजुरी दिएका हुन् । घिमिरेले संविधानले प्रदान गरेको मौलिक हक, नागरिक तथा राजनैतिक अधिकार सम्बन्धी अनुबन्ध १९६६, मानवअधिकारको बिश्वव्यापी घोषणा पत्र १९४८ ले प्रदान गरेको भयरहित वातावरणमा बाँच्न पाउने मानवअधिकारको हनन् भएकोले न्यायको लागि पहल गरिपाउँ भन्दै आयोग उजुरी दिएका छन् ।

घिमिरेको उजुरी आयोगले दर्ता गरेर घटनाबारे जानकारी माग गर्दै पत्रकार महासंघ सुनसरीलाई पत्राचार गरेको छ । आयोगले घटनाबारे पत्रकार महासंघ सुनसरीको प्रतिक्रिया पनि मागेको छ भने घटना भएको हो भने घिमिरेको मानवअधिकारको संरक्षणका लागि के कस्तो पहल गरिएको छ ? भन्दै त्यसबारे जानकारी उपलब्ध गराएर अनुसन्धानमा सहयोग गर्न अनुरोध पनि गरेको छ । 


human-rights