धरान: धरानका मेयर हर्क साम्पाङ र उनका समर्थकहरुबाट पत्रकारहरु असुरक्षित भएको भन्दै नेपाल पत्रकार महासंघ सुनसरीले गृहमन्त्रीसमक्ष सुरक्षा माग गरेका छन् ।
महासंघको केन्द्रीय सदस्यहरु, प्रदेश र जिल्ला नेतृत्वको टोलीसँगै जिल्ला प्रशासन कार्यालय इनरुवा पुगेको टोलीले प्रजिअ हुमकला पाण्डेमार्फत गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष शान्ति सुरक्षा माग गरेको हो । धरानका मेयर साम्पाङ र उनका समर्थकहरुले प्रश्न सोधेको र समाचार लेखेकै आधारमा पत्रकारविरुद्ध अराजकरुपमा प्रस्तुत भइरहेकोले असुरक्षित महशुस भएको महासंघको भनाई छ ।
पत्रकारलाई निशाना बनाएर मेयर साम्पाङले दिएको अभिव्यक्ति पनि संवेदनशील भएको महासंघले ठहर गरेको जनाएको छ । स्थानीय सरकार प्रमुखको दायित्व जनताको जिउधनको सुरक्षा गर्ने भएपनि धरानका पत्रकारहरुले भने असुरक्षा महशुस गरेको प्रजिअमार्फत गृहमन्त्रीलाई पठाएको पत्रमा उल्लेख छ ।