धरान: बाँझगरा वन उपभोक्ता समुह धरान १५ को कार्यालय भवन नजिकै जमिनमुनि गाडेर लुकाइएको अवस्थामा टुना भेटिएको प्रकरणमा वन कार्यालयले सर्च अप्रेशन शुरु गरेको जनाएको छ ।

पाँचकन्या सब डिभिजन वन कार्यालयका अनुसार वन उपभोक्ता समुहको कार्यसमितिलाई गाडेको अवस्थामा भेटिएको टुनाको स्रोत के हो ? कसले गाडेको हो ? भनेर स्पष्टीकरण सोधिएको छ । उक्त स्पष्टीकरणको जवाफ आएको र अब पुनः वन उपभोक्ता समुहलाई पनि सोही प्रकरणमा प्रश्न सोधिने सब डिभिजन प्रमुख महेशकुमार साहले जानकारी दिए । उनले भने,‘जिल्ला वन डिभिजनबाट मलाई नै अनुसन्धान अधिकृत तोकेपछि अनुसन्धान शुरु गरेका छौं । समुहको कार्यसमितिलाई स्पष्टीकरण सोध्यौ, जवाफ आएको छ । अब घटनाबारे उपभोक्ता समुहलाई पनि सोध्छौं । कार्यसमिति र उपभोक्ता समुह फरक हो । समुहमा आम उपभोक्ता हुन्छन् ।’

साहका अनुसार वन समुहको आम उपभोक्ताहरुको भेलाले दिने जवाफको आधारमा पनि कार्यसमितिलाई कस्तो कारबाही गर्ने भन्ने निश्चित हुनेछ । हस्तान्तरित वन क्षेत्रमा समुहको विधान र कार्ययोजना अनुसार कारबाही गर्ने वा वन ऐन, नियमावली अनुसार कारबाही गर्ने भन्ने निश्चित हुने पनि साहले बताए । यस्तै, अनुसन्धानको क्रममा कार्यसमितिले अनुमति पाएको संख्यामा मात्र रुख काटेको हो कि बढी काटेको हो भनेर अनुसन्धान गर्न जंगल सर्च अप्रेशन पनि भइरहेको छ । यसको लागि ३ जनाको टोली खटिएको पनि साहले बताए । उक्त टोलीले कटान अनुमति पाएको भन्दा बढी रुख काटिएको छ कि छैन भन्ने पत्ता लगाउने पनि साहले बताए । 

बैशाख २५ गते सुराकीको आधारमा पाँचकन्या सब डिभिजन वन कार्यालयले वन समुहको कार्यालय नजिकै गाडेर लुकाएको अवस्थामा २८ थान टुना वरामद गरेको थियो । वन समुहका पदाधिकारीहरुले भने वन कार्यालयबाट अनुमति पाएभन्दा बढी रुख नकाटिएको र दाउराकोरुपमा वितरण गर्नुपर्ने टुप्पा र हाँगाबाट पनि चिरान काठ निस्कने देखिएकोले लुकाइएको स्वीकारेको थियो । ती टुना तस्करीको वा अन्य बिक्री गर्न नभै वन समुहकै बन्न लागेको भवनमा उपभोगी हुने र उपभोक्तालाई पनि थप वितरण गर्न सकिने भएकोले गाडेर लुकाएको उनीहरुको दाबी थियो ।