धरान: गत फागुन तेस्रो सातादेखि जारी कोकाहा खानेपानी श्रमअभियानमा ३ करोड ५० लाख बढी नगद सहयोग प्राप्त भएको छ भने १ करोड २० लाख बढीको पाइप सहयोग भएको छ । 

श्रमअभियानको आयव्यय शुक्रबार सार्वजनिक गर्दै अभियानका नेतृत्वकर्ताहरुले कोकाहा खानेपानी अभियान शुरु गर्नुअघिको मौज्जात रकम २७ लाख ८ हजार ३२४ रुपैया रहेको जानकारी दिएको छ । त्यसबाहेक कोकाहा श्रमअभियान शुरु भएपछि फागुन २२ देखि चैत १८ गतेसम्म १ करोड २८ लाख ५९ हजार १३२ रुपैया दाताहरुबाट सहयोग प्राप्त भएको थियो भने चैत १९ देखि बैशाख २३ गतेसम्म १ करोड ८७ लाख ६० हजार ३३७, बैशाख २४ गतेदेखि जेठ ४ गतेसम्म ३३ लाख ८० हजार ७९९ रुपैया सहयोग प्राप्त भएको अभियान टिमका समिर तामाङले जानकारी दिए ।

यस्तै, नगद सहयोगबाहेक दाताहरु आफैले खरिद गरेर १ करोड २० लाख ३८ हजार ७०४ रुपैया बराबरको जिन्सी पाइप सहयोग गरेको पनि उनले बताए । ‘कोकाहा अभियान शुरु हुनुअघिको मौजाद रकमसहित कुल ३ करोड ७७ लाख ८ हजार ५९२ रुपैया दाताहरुबाट सहयोग प्राप्त भएको छ,’उनले भने,‘१ करोड २० लाख ३८ हजार ७०४ रुपैया बराबरको पाइप पनि प्राप्त भएको छ ।’ अहिले ३० लाख ७६ हजार ५० रुपैया नगद मौज्जाद रहेको पनि उनले बताए । 

कुल आम्दानीमध्ये विभिन्न शिर्षकमा ३ करोड ४६ लाख ३२ हजार ५४१ रुपैया खर्च भएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । त्यसमध्ये सबैभन्दा बढी गत फागुन २२ देखि जेठ ४ गतेसम्मको पाइप खरिदमा २ करोड ५० लाख २४ हजार ५३५ रुपैया बराबर खर्च भएको छ । यस्तै, कोकाहा श्रमअभियानसँगै धन्यवाद ट्यांकी निर्माण, आशो पार्क क्षेत्रको टहरा स्थानान्तरण गरि वेलकम ट्रस निर्माणलगायतमा पनि श्रमदान चलिरहेको र ती सबैमा खाजा, पानी, खाजामा कुल २८ लाख ४ हजार ५५३ रुपैया खर्च भएको छ । यस्तै, टोटन तार तथा भल्व खरिदमा २० लाख ८१ हजार ६७४ रुपैया, भाडा तथा ढुवानीमा १८ लाख ७३ हजार २६८ रुपैया, इन्धन खर्चमा ४ लाख ६२ हजार ८१३, कर्मचारी ज्यालामा ११ लाख ७१ हजार ५७३, ४ वटा जेनेरेटर खरिदमा २ लाख ३० हजार खर्च भएको पनि जानकारी दिइएको छ । 

kokaha press1

यसैगरि, खानेपानी व्यवस्थापन बोर्डका स्टोर प्रमुख गंगा भट्टराईले कोकाहा खानेपानी अभियानमा बोर्डको रकमबाट टेण्डर प्रक्रियामार्फत ८३५ पिस पाइप ( ५ हजार १० मिटर ) खरिद गरिएको जानकारी दिए । उक्त पाइप खरिदमा बोर्डबाट ५७ लाख ३६ हजार हजार ३२० रुपैया खर्च भएको पनि उनले बताए । यस्तै, विगतमा कोकाहा श्रमअभियानदेखि नै दाताहरुको सहयोगले खरिद भएर बोर्डमा स्टक रहेको ९ लाख १४ हजार ८९९ रुपैया बराबरको ११३ पिस पाइप पनि प्रयोग गरिएको स्टोर प्रमुख भट्टराईले जानकारी दिए ।

उनका अनुसार हालसम्म कोकाहा श्रमअभियानमा दाता, खानेपानी बोर्ड र दाताहरुबाट आएर स्टोरमा रहेको पुरानो पाइपसमेत गरेर कुल ३६ हजार ९९१ मिटर पाइप (६ हजार १६५ पिस ) फिल्डमा पुगिसकेको छ । यो सबैको मुल्य ४ करोड ४६ लाख ३३ हजार ४३८ रुपैया भएको पनि भट्टराईले बताए । सर्वे काम सकिएको र कुल ४२ किलोमिटर दुरी निस्किएको जानकारी दिदै उनले अझै ५ किलोमिटर पाइप खरिद गर्न आवश्यक रहेको पनि बताए । कोकाहा श्रमअभियानका प्रमुख दत्तकुमार लिम्बुले सबै आय व्यय चुस्तदुरुस्त राखिएको र जसले पनि आफुलाई सम्पर्क गरेर खर्च विवरण हेर्न सक्ने बताए । उनले अनाश्वयक र फजुल खर्च नगरिएको दाबी गर्दै दाताहरुको विश्वास गुम्न नदिने पनि बताए । 

भिडियो: