धरान: मेयर हर्क साम्पाङले आफु धरान खानेपानी व्यवस्थापन बोर्डको नेतृत्वमा आएपछिको हिसाब एवं आयव्यय सार्वजनिक गरेका छन् ।

निवर्तमान मेयर तिलक राईले आफुले ७ करोड हाराहारीमा बोर्डमा नगद छोडेको र उक्त खर्चको बिषयमा प्रश्न उठाएका थिए । साथै, विभिन्न राजनैतिक दलका नेताहरुले पनि बोर्डको खर्च र कामकारबाहीको पारदर्शितामाथि प्रश्न उठाएका थिए । खानेपानी बोर्डका अध्यक्षसमेत रहेका मेयर साम्पाङले शुक्रबार पत्रकार सम्मेलन गर्दै निवर्तमान मेयरले ७ करोड रकम छोडेको भनाई झुटो भएको बताए । उनले आफु जेठ १० गते बोर्डमा पदस्थापन हुँदा बैंकमा ४ करोड ४४ लाख ३४ हजार ३६५ रुपैया मात्र मौज्जाद रहेको जानकारी दिए । उक्त रकममध्ये १ करोड ८७ लाख १ हजार ६१९ रुपैया पहिलाको तिर्नुपर्ने रकम तिरेपछि अघिल्लो आर्थिक बर्षको २०७९ असार मसान्तसम्म २ करोड ५७ लाख ३२ हजार ७३७ रुपैया मात्र मौज्जाद रहेको पनि मेयर साम्पाङले बताए ।

अघिल्लो आर्थिक बर्ष २०७९ जेठ महिनामा १ करोड ३ लाख ७८ हजार ५३४ रुपैया र असारमा १ करोड १० लाख ९० हजार ११९ रुपैया आय भएको पनि मेयर साम्पाङले जानकारी दिए । जेठ महिनामा विभिन्न शिर्षकमा व्ययतर्फ १ करोड १५ लाख ७४ हजार ७२१ रुपैया भएको थियो भने असारमा २ करोड ६९ लाख ९५ हजार २४६ रुपैया खर्च भएको मेयर साम्पाङले जानकारी दिए । 

यसैगरि, चालु आर्थिक बर्ष २०७९/०८० मा साउनदेखि बैशाखसम्मको आम्दानी कुल १४ करोड ४६ लाख ८२ हजार ७९० रुपैया रहेको मेयर साम्पाङले जानकारी दिए । त्यसमध्ये अघिल्लो आर्थिक बर्षको मौज्दात २ करोड ५७ लाख ३२ हजार ७३७ रुपैया, धारा जडानबाट शुल्क वापत १ करोड १६ लाख ६० हजार ८५९ रुपैया आम्दानी भएको पनि बोर्डले जनाएको छ । 

mayor harka1

यस्तै, खानेपानी महशुलतर्फ रेल्वे काउन्टर, पिण्डेश्वर काउन्टर, सुम्निमा काउन्टर र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट समेत गरि १० करोड ६६ लाख ६२ हजार ७३९ रुपैया आम्दानी भएको छ भने माछापुच्छ्रे बैंकबाट ब्याजतर्फ ६ लाख २६ हजार ४५४ रुपैया पनि आम्दानी भएको छ । यस्तै, गत साउनदेखि बैशाखसम्म विभिन्न शिर्षकमा १४ करोड १० हजार २११ रुपैया खर्च भएको पनि मेयर साम्पाङले जानकारी दिएका छन् । 

मेयर साम्पाङले विगतमा खानेपानीको बोर्ड अध्यक्ष नगर प्रमुख हुने भन्ने निर्णयको आधारमा नै अहिले आफु बोर्डको अध्यक्ष भएको पनि बताए । उनले भने,‘बोर्ड गठन मैले गरेको होइन, पहिलाकै संरचना अनुसार बोर्डको अध्यक्ष को हुने भन्ने निर्णय थियो, सोही अनुसार भएको हो ।’

यस्तै, उनले बोर्ड बैठक नबसाएको सन्दर्भमा अघिल्लो मेयरको कार्यकालमा पनि डेढ बर्ष बैठक नबसेको देखिएको भन्दै तत्काल बैठक बसाउने मनसाय नरहेको बताए । उनले हाल बोर्डमा सदस्य रहेकाहरुसँग काम गर्न आफुलाई असहज भएको भन्दै बैठक तत्काल नबसाउने आसय व्यक्त गरे । उनले भने,‘बोर्डमा को को बस्ने, बैठक बस्ने कि नबस्ने भन्दा पनि जनताले परिवर्तनको महशुस हुनुपर्छ । मलाई उहाँहरुसँग काम गर्न असहज छ, सिधै कुरा ।’

भिडियो: