धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विरामीहरुले भोग्नुपरिरहेको समस्या र बेथितीहरुबारे राष्ट्रिय स्वतन्त्र पार्टी सम्बद्ध नेताहरुले पदाधिकारीहरुको ध्यानाकर्षण गराएका छन् ।

अभियन्ता एवं रास्वपा सम्बद्ध सरिन तामाङ, सुदिप श्रेष्ठ, सत्य घलेलगायतले प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा.सञ्जिव शर्मा, अस्पताल निर्देशक डा.जगत नारायण प्रसादलाई भेटेर ध्यानाकर्षण गराएका हुन् । उनीहरुले अस्पतालको फार्मेसीमा आवश्यक पर्ने औषधी उपलब्ध नहुने, विरामीलाई नामै तोकेर बाहिरको क्लिनिकमा पठाउने र डाक्टरले भनेको क्लिनिकबाहेक अरुको रिपोर्ट ल्याए नहेर्ने, अप्रेशसनको डेट ३,४ महिनापछि मात्र पाउने, आइसियु बेड पाउन पहुँचवाला कर्मचारी वा नेताहरुलाई भन्नुपर्नेलगायत बिषयमा पदाधिकारीहरुको ध्यानाकर्षण गराएका थिए । सुदिप श्रेष्ठले प्रतिष्ठानको बेथिती र समस्याबारे राजधानीमा रास्वपाको बैठकमा राख्ने र सांसदहरुद्धारा संघीय संसदमा कुरा उठाउने पनि जानकारी दिए । 

प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा.शर्माले एकैदिनमा सुधार र परिवर्तन नहुने भन्दै साना साना कुराहरुबाट सुधार गरिरहेको बताए । आफु नेपाल सरकारले गठन गरेको उच्चस्तरीय समितिको सदस्य पनि भएकोले आफुहरुले दिएको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने नैतिक दबाब पनि रहेको डा.शर्माले बताए । ‘बैकुण्ठ अर्यालको प्रतिवेदन दिने सदस्य म पनि हुँ । त्यसैले अहिले मलाई आफै प्रतिवेदन लेख्ने, लागु नगर्ने ? भन्ने प्रश्न उठ्न सक्छ । म नैतिकरुपमा पनि संस्थालाई सुधार गर्न दबाबमा छुँ,’उनले भने,‘हेर्दा साना लाग्ने तर विरामीहरुलाई राहत दिने गरि परिवर्तनहरु गरिरहेका छौं ।’ 

अस्पताल निर्देशक डा.जगत नारायण प्रसादले चिकित्सा शिक्षा आयोग गठन भएपछि प्रतिष्ठानको स्वयत्तता खोसिएको र आर्थिक अवस्था पनि डामाडोल भएको बताए । फ्याकल्टी डेभलपमेन्ट प्रोग्राम गर्न नपाउदा फ्याकल्टी उत्पादन गर्न र काममा लगाउने अवस्था नभएको पनि उनले बताए । अस्पतालको क्षमताभन्दा विरामीको चाप अत्यधिक भएकोले उपचार सेवामा पनि असर पुगिरहेको भन्दै उनले सामान्य विरामीहरु पनि प्रतिष्ठानमा आउने चलन रोक्नुपर्ने बताए । उनले भने,‘यो रेफरल हस्पितल हो, तर ज्वरो आउदा, टाउको दुख्दा पनि विरामी आउछन् । स्थानीय सरकारले एउटा सिटी हस्पिटल चलाउनुपर्छ ।’

अस्पताल निर्देशक डा.जगत नारायण प्रसादले २ वटा डिआर एक्स रे मेशिन खरिद प्रक्रिया शुरु गरिसकेको बताए । इर्मजेन्सीमा एक्स रे राखिएको, एक्स रे बिहान ७ बजेदेखि ७ बजेसम्म, ल्याब रिपोर्ट पनि बिहान ७ बजेदेखि समय तोकिएको उनले जानकारी दिए । फार्मेसीको लागि औषधी खरिद गर्न झञ्झटिलो प्रक्रिया भएकोले समस्या रहेको पनि उनले बताए ।