मेरो घर धरान भए पनि पुर्खौली गाउँ दिप्सा, भोजपुर जिल्ला हो । पुर्खौली जिल्ला भोजपुर घर भएकाहरु थुप्रैको बसोबास धरानमा छ । धरानमा सबैभन्दा बढी भोजपुर र खोटाङका राईहरुको बसोबास छ । म पनि केही दिन देखी ब्यक्तिगत कामले भोजपुर बजारको बसाइमा छु । 

        शुक्रबार साझ धरान घरबाट आमाको फोन आयो । कहाँ बसेको छस् भनेर सोध्नु भयो । मैले भोजपुर बजारमा बसेको जानकारी गराए । आमाले शनिबार भोजपुर बजारमा ठूलो हाट बजार लाग्ने बताउनु हुँदै बजार हेर्न जानू भन्नू भयो । उहाँले पहिले गाउँ बस्दा साथीभाइहरुसङ्ग भोजपुर बजार घुम्ने गरेको बताउनु भयो । घुम्न रमाइलो हुने भोजपुर बजारमा वरिपरी गाउँका सबै बजार भर्न आउने र समानहरु बेच्न ल्याउने जानकारी पनि गराउनु भयो । मैले हुन्छ। म भोलि जान्छु भनेर फोनबाट बिदा लिए ।

bhojpur1

          भोलिपल्ट शनिबार बिहान आफ्नो काम सकेर मसङ्गै रहेको भाइ साथी चिरञ्जीवी गिरीलाई लिएर हाट खोज्दै भोजपुर बजार झरे । बाटोमा हाट लाग्ने ठाउँ सोध्दै त्यतै लाग्यौ । भोजपुर बजार छेउमै रहेको भोजपुर नगरपालिका ७ नम्बर वडाको सात धारेमा लाग्दो रहेछ हाट । बिहान १० बजे तिर पुग्दा हाट भिडभाडका साथ चलिरहेको थियो । बजारको माहौल साच्चै रमाइलो थियो ।  किनबेच चलिरहेको थियो । मोलमोलाइ भइरहेको थियो । बिहान अझै भिड रहेको स्थानियले बताए । साच्चै हाट बजारको रमझम देखेर रमाइलो लाग्यो । हामी हाट बजार सबै घुम्यौ । हाट बजार घुमेर रमाइलो गर्ने गरेको आमाको कुरा सम्झिन्दा म सङ्गै आमा पनि घुमिरहेको महसुस भयो । 

            भोजपुर बजार क्षेत्र र यहाका स्थानियलाई शहरीकरणले छोइरहदा हाट बजारमा किनमेल गर्न र व्यवसाय गर्न आएका गाउँका मान्छेहरुलाइ देख्दा, भेट्दा भने पहिलेको अर्गानिक भोजपुरे महसुस गर्न पाइने रहेछ । उहाँहरुको रहनसहन, बोलाइ, हसाइमा मौलिकता पाइने रहेछ । टिन, फलाम र सिमेन्टको अव्यवस्थित स्टलहरु देख्दा चाहिँ कताकता बारीमा रसायनिक मल छरे जस्तै लाग्ने । 

bhojpur3

       हाटमा भोजपुर बजार वरिपरिका गाउहरु बोख्खिम, भैसीपङ्ग्खा, पारपाने, प्याउली, आमथेक, जरायोटार, काफ्ले लगायतबाट आफैले उत्पादन गरेका खाद्यान्नहरु चामल, कोदो, गहु तथा सागसब्जी, फलफुलहरु, भेडाबाख्रा, कुखुरा, चल्लाहरु बेच्नका लागि ल्याउने रहेछ । बजार नजिक होटेल, रेष्टुरेन्टहरु बढेकोले पहिले जस्तो खाजा नास्ता, घरेलु तिनपाने रक्सी, जाडहरुको पसल चाहिँ नहुने रहेछ । हाट बजारमा गएर घरेलु तिनपानेको स्वाद लिने रहर चाहि हाम्रो पूरा हुन सकेन । 

          समुद्री सतहदेखि करिब १७ सय मिटरको उचाइमा अवस्थित चिसो मौसममा रहेको भोजपुर बजारको हाट बजारमा आफ्नै मौलिकता पाए । मेरो आमा धरान झरेकै ४५/५० वर्ष भइसक्यो । त्यो बेला भन्दा अघिदेखी लाग्दै आइरहेको हाट बजार अझै चलिरहेको छ । हराउदै गइरहेको मौलिकतालाई स्थानीय निकायले उचित ब्यावस्थापन र संरक्षण गर्न जरुरी देखिएको छ । यसलाई पहिलेको चलन जस्तै गाउँबाट बेच्न ल्याउने, बजार भर्न आउनेमा मात्र सिमित राखिनु हुदैन । ब्यवस्थित गर्दै व्यवसायीकरण गर्न जरुरी छ । मौलिकतालाई जोगाउदै उचित व्यवस्थापन गर्न सके, स्थानिय उत्पादनलाइ प्रोत्साहन गर्न सके उनीहरुको आम्दानी बढाएर गाउँमा कृषि गरेर जिविकोपार्जन गर्नेहरुको जीवनस्तर उकास्न सकिन्छ । 

तस्वीर: बिकास चालिङ राई 

bhojpur7

bhojpur8

bhojpur6

bhojpur5
bhojpur10

bhojpur11

bojpur3