धरान: भदौ ४ गतेदेखि शुरु हुने नेवार समुदायको प्रमुख साँस्कृतिक लोकनृत्य लाखे नाचलाई मर्यादित एवं व्यवस्थित बनाउन ९ बुँदे आचारसंहितामा बनाइएको छ ।

मौलिक परम्परागत लाखे नाचलाई विकृतिमुक्त बनाउन साथै संरक्षण, संर्वद्धन र अनुगमन गर्दै अझै लोकप्रिय बनाउन नेवाः देय दबुको पहलमा आचारसंहितामा सहमति भएको हो । दबुले शनिबार पत्रकार सम्मेलन गर्दे साउन १८ गते सिद्धि नेवाः परिषदको सहलमा सरोकारवाला र लाखे नाच गराउने संघसंस्था, समुहको उपस्थितिमा ९ बुँदे आचारसंहितामा सहमति गरिएको जानकारी दिएको छ ।

राष्ट्रिय सँस्कृति र पहिचानको निम्ति धरानमा मर्यादित लाखेनाच गरौं भन्ने मुल पनि तय गरिएको दबुले जनाएको छ । लाखे नाचको प्रत्यक्ष निगरानीको लागि एक अनुगमन समिति पनि गठन गरिएको दबुका अध्यक्ष मनोहर शाक्यले जानकारी दिए । उनले धरानका सम्पुर्ण लाखे नाचसँग सम्बन्धित समुह तथा संघसंस्थाहरुलाई यो बर्ष वपन मर्यादित र व्यवस्थितरुपमा नाच नचाईदि अनुरोध पनि गरेका छन् । कुनै समुह तथा संघसंस्थाहरुले उच्छृंखलतवरले जर्बजस्ती चन्दा मागेको थाह पाए वा विसंगति, विकृतिकोरुपमा मौलिक जात्रालाई दुरुपयोग गरिएको भेटिएमा धार्मिक साँस्कृतिक अधिकार संरक्षण कानुन वमोजिम कारबाही गरिने पनि अध्यक्ष शाक्यले बताए । 

के छ आचारसंहितामा ?

lakhe1

अचारसंहितामा धरान क्षेत्रमा लाखे नाच नचाउने समुह वा संस्थाहरु नगर दबुमा अनिवार्य कलाकारको विवरणसहित संस्था वा समुह सुचिकृत हुनुपर्ने उल्लेख छ । लाखेनाच समुह वा संस्थाहरु आफ्नो परिचय खुल्ने गरि ब्यानर वा परिचयपत्र वा टिसर्ट लगाउनुपर्नेछ भने धरानभित्र रहेका घर वा व्यापार व्यवसायी क्षेत्रमा आर्थिक संकलन गर्न पाइनेछैन । तर, लाखे नाच गराउदा स्वतस्र्फुतरुपमा प्राप्त आर्थिक सहयोग वा निम्तो प्राप्त भई श्रद्धाले दिएको आर्थिक सहयोग (भेटी) ग्रमण गर्न सकिने उल्लेख छ ।

धरानबाट बाहिर जाने वा धरानमा आमन्त्रित लाखे समुहको उद्देश्यसहित लिखित जानकारी गराउनुपर्नेछ भने मदिरापान, मादकपदार्थ र लागुपदार्थ सेवन गरी लाखे नाच्न पाइनेछैन । साँस्कारसँग प्रत्यक्ष सरोकार राख्ने समुदायबाहेक अन्य समुदायले लाखे नाच गराउने पाइनेछैन भने उमेर नपुगेका बालबालिकाहरुलाई लाखेनाचमा हिड्न नदिन पनि अनुरोध गरिएको छ । यी बुँदाहरु उल्लंघन गरेको पाइएमा ढोल, झ्याम्टा जफत गरेर कानुन बमोजिम प्रहरी प्रशासनको सहयोगमा कारबाही गरिने पनि दबुले जनाएको छ ।

भदौ १८ मा लोख नाच प्रर्दशनी तथा प्रतियोगिता

यही भदौ १८ गते धरानमा चौथो वृहत खुल्ला लाखेनाच प्रर्दशनी तथा सुनसरी जिल्ला स्तरीय लाखे नाच प्रतियोगिता हुने भएको छ । दबुका अनुसार भानुचोकमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म प्रर्दशनी तथा प्रतियोगिता हुनेछ । 

प्रतियोगितामा सुनसरी जिल्लाभित्र रहेका लाखे नाचहरुलाई संस्थागत एवं खुल्ला समुहगतरुपमा सहभागी गराइने पनि आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद २५ हजार, दोस्रोलाई १५ हजार, तेस्रोलाई नगद १० हजार र सान्त्वनालाई नगद ५ हजार पुरस्कार दिइने पनि आयोजकले जनाएको छ । 

भिडियो: