धरान: केही दिनयता धरानमा धार्मिक तथा जातीय खलल पुग्न सक्ने अवस्था सृर्जना भएको भन्दै यहाँका मुस्लिम समुदायले उक्त द्धन्दको अन्त्य र प्रेम, सद्भाव, भाइचाराको निर्माणको लागि मुस्लिम समुदायले बिशेष प्रार्थना (दुवा) गरेका छन् । 

धरानको बिग्रदै गएको परिस्थितिप्रति चिन्तित हुदै मुस्लिमहरुको मुल मातृ संस्था अन्जुमन इस्लामियाले धरान ३ स्थित जामे मस्जिदमा आज शुक्रबार बिशेष प्रार्थना सभा आयोजना गरेको हो । शुक्रबारको साप्ताहिक नमाज पछि धरानका करिब २ हजार मुस्लिमहरुको उपस्थितिमा सद्भावको निम्ति सामुहिक प्रार्थना गरिएको हो ।धरान एक बहुजाती, बहुसाँस्कृतिक, बहुधार्मिक, बहुभाषिक सहर भएकोले विविधतालाई आत्मसात गर्दै प्रेम, सद्भाव र शान्तिको निम्ति अञ्जुमन इस्लामिया धरानले अपिल पनि जारी गरेको महासचिव अफाक अहमदले जानकारी दिए ।

धरानमा पछिल्लो समय चर्च र मन्दिरको विवाद भएको थियो भने गोरुको मासु खाएको बिषयले हिन्दु धर्मावलम्बी र साँस्कृतिक अधिकार तथा पहिचान पक्षधरहरुबीच विवाद पनि सृर्जना भएको थियो । यसले धरानको धार्मिक, सामाजिक सद्भाव बिथोलिने अवस्थामा पुगेपछि राजनीतिक, सामाजिक, धार्मिक तथा नागरिक अगुवाहरु सबै चिन्तित बनेका थिए । आज दिउँसो धरानमा सर्वदलीय तथा सर्वपक्षीय सद्भाव र्याली निकालेको थियो । धरानको सद्भाव बिग्रन नदिन प्रशासनले आज मध्यरातीदेखि भोली शनिबार मध्यरातीसम्म निषेधाज्ञा जारी गरिसकेको छ ।