धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेध आदेशको समय सकिएपछि आज धरान सामान्य अवस्थामा नै फर्किएको छ ।

जिल्ला प्रशासनले जारी गरेको आदेशको समय गए राती १२ बजेदेखि सकिएको थियो । धरानको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै शुक्रबार राती १२ बजदेखि लागु हुने गरि प्रशासनले आदेश जारी गरेको थियो । यो आदेशले शनिबार धरानको बजार, यातायात, स्कुल सबै ठप्प प्रायः थियो । र्यालीले सुरक्षा घेरा तोडेर निषेधित क्षेत्र धरान प्रवेश गर्यो भने के होला भन्ने सबैलाई चिन्ता थियो । पहिचान पक्षधरहरुले पनि र्याली धरान आएमा प्रतिकार गर्नेसम्मको अभिव्यक्तिहरु दिदै आएका थिए । यद्यपी, धरान हिजो दिनभर शान्त रह्यो ।

dharan2

आज बिहानैदेखि बजार खुलेको छ भने सवारीसाधनहरु पनि सुचारु भइसकेको छ । मन्दिर र चर्चको विवाद सेलाउन नपाउदै गोरुको मासु खाएको विवाद चर्किएपछि धरानमा धार्मिक, साम्प्रदायिक हिंसा भड्किएर सद्भाव बिथोलिन सक्ने भन्दै सर्वत्र चिन्ता प्रकट भएको थियो । खास गरि हिन्दु धर्मावलम्बीहरुले गाईगोरु काटेको विरोधमा गौ रक्षाको लागि र्याली निकाल्न भन्दै देशभरिबाट आउने भएपछि यहाँ अप्रिय घटना हुने खतरा बढेको थियो । 

dharan

धार्मिक, सामाजिक सद्भाव बिथोलिने चिन्ताले शुक्रबार नै धरानमा सर्वपक्षीय, सर्वदलीय सद्भाव र्याली निकालिएको थियो भने शनिबार धरान आउने कार्यक्रम रोक्न पनि अपिल गरिएको थियो । धरानको संवेदशनीलतालाई ध्यान दिदै प्रशासनले निषेध आदेश जारी गरेर सबै नाकामा कडा सुरक्षा पारिएको थियो । धरानमा कार्यक्रम गर्न आएका धर्मगुरु तथा अनुयायीहरुलाई प्रहरीले सिमानामै रोकेपछि अप्रिय घटना हुन पाएन । 

धरानको वडा नं १४ मा गोपाल मन्दिर नजिकै चर्च बनेपछि करिब २ महिनादेखि हिन्दु धर्मावलम्बी र ख्रिष्टियनबीच धार्मिक विवाद भएको थियो । यो विवाद पुर्णरुपमा साम्य नहुदै गोरु काटेर खाएको घटनाले विवाद थप चर्किएको थियो ।