धरान: नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले एमाले पहिचान विरोधी पार्टी नभएको बताएका छन् । 

राष्ट्रिय युवा संघ नेपालको प्रथम कोशी प्रदेश अधिवेशनको शनिबार धरानमा उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता नेम्बाङले यो कुरा बताएका हुन् । उनले धर्म निरपेक्षता र समावेशिता बनाउने पार्टी एमाले भएको जिकिर गर्दै पहिचान विरोधी पार्टी कसरी भयो ? भन्दै प्रश्न गरे । किरात महागुरु फाल्गुनन्दलाई देशको राष्ट्रिय विभुती आफ्नो र एमाले पार्टीको पहलमा घोषणा भएको दाबी गर्दै उनले भने, महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभुती घोषणा गर्दा उहाँ किरातीहरुको मात्र नभएर सिंगो देश, सबै जाति, धर्म, सँस्कृतिका जनताको पनि महागुरु हुनुभयो । यति काम गर्ने पार्टीलाई पहिचान विरोधी भन्न मिल्छ ?’ 

हिड्ने क्रममा कही कतै अलिकति कमजोरी भयो भनेर छलफल गर्नु स्वभाविक भएपनि पहिचान विरोधी भनेर ढुगा हान्न नमिल्ने उनले बताए । पहिचानको नाममा प्रहार भएको ढुंगाले ताप्लुजुङको लिम्बु डिएसपी र झापाको राजवंशी थरका हवल्दारलाई घाइते बनाएको प्रसंग उल्लेख पहिचानको ढुंगा खतरनाक हुने बताए । उनले भने,‘पहिचानको ढुंगा खतरनाक हुदो रहेछ, ताप्लेजुंगको लिम्बु डिएसपीलाई लाग्ने, झापाको राजवंशी हवल्दारलाई लाग्ने, कस्तो खालको ढुंगा हो ?’

उनले ढुंगा प्रहार गर्ने प्रवृत्ति कसैको हितमा नभएकोले लोकतन्त्रको मुल्यमान्यता विपरीतको काम रोक्न आग्रह पनि गरे । लोकतन्त्रको मुल्य मान्यतालाई वलियो बनाएर जानु नै देश र जनताको हितमा भएको पनि बताए । उनले भारत दास बन्नुपरेको बताउदै तराई मधेशदेखि हिमालसम्मका सबै जाति, धर्म, भाषा, सँस्कृतिका जनता एकठाउँमा उभिएकै कारण नेपाल सधै स्वतन्त्र मुलुक भएको पनि बताए । उनले युवाहरु जनताको बीचमा गएर तराई मधेशदेखि हिमालसम्मका विविध जाती, विविध भाषा, धर्म र सँस्कृति भएकाहरुलाई एकठाउँमा उभ्याएर देशलाई एकजुट बनाउन पनि आग्रह गरे ।