धरान:  एक महिनाभित्र सरोकारवाला निकायहरुसँग सहमति लिएर बढुवा प्रक्रिया सुचारु गर्नेलगायत बिषयमा सहमति भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक र कर्मचारीहरुको आन्दोलन स्थगित भएको छ ।

गए राती प्रतिष्ठानका पदाधिकारीहरुसँग भएको वार्तामा सहमति भएपछि शिक्षक कल्याण समाजले आन्दोलन स्थगित गरेको हो । साथै, परीक्षा महाशाखा, शैक्षिक महाशाखामा लगाएको ताला पनि राती नै खोलिदिएको समाजका अध्यक्ष डा.सेराज खानले जानकारी दिए । सरोकारवाला निकायहरुसँग समन्वय गरेर बढुवा प्रक्रिया सुचारु गर्ने र एक महिनाभित्र बाँकी रहेको अन्र्तवार्ता सक्नुपर्ने सहमति भएको उनले बताए । 

सहमति पछि आन्दोलन फिर्ता नभै स्थगित मात्र गरिएको पनि अध्यक्ष खानले बताए । आन्दोलनमा सहभागी भएका शिक्षकहरुलाई पुर्वाग्रही व्यवहार पनि नगर्ने सहमतिमा उल्लेख छ । शिक्षकहरुलाई रोकिएको बढुवा प्रक्रियालाई सुचारु गर्नुपर्ने एकसुत्रीय माग राखेर आन्दोलन गरेका थिए । 

यस्तै, कर्मचारीहरुको मागबारे पनि आज (सोमबार) सहमति भएको रजिष्ट्रार प्रा.डा.सुर्य संग्रौलाले जानकारी दिए । कर्मचारीहरुको आन्तरिक बढुवा प्रक्रिया सरोकारवाला निकाय र लोकसेवा आयोगको सहमति लिएर सामुहिक प्रयासबाट एक महिनाभित्र अन्र्तवार्ता प्रक्रियालाई सुचारु गरि एक महिनाभित्र सम्पन्न गर्ने सहमति भएको छ । २०७८ को खाइपाइ आएको २ हजार भत्तालाई तलबमा समायोजन गरि २०७९/८० आर्थिक बर्षमा १५ प्रतिशत वृद्धि तलब रकम आगामी सिनेट बैठकबाट निर्णय गरेर बजेट उपलब्धताको आधारमा वितरण गर्दै जाने पनि सहमति भएको छ ।

यस्तै, प्रतिष्ठानको तलब स्केल २३ हजार सम्म भएका कर्मचारीहरुलाई २०८० साउनदेखि बेसिक तलब १५ प्रतिशत हुन आउने रकम निर्वाह भत्ता स्वरुप उपलब्ध गराउने र २३ हजार माथि तलब भएकाहरुको हकमा बजेटको उपलब्धताको आधारमा क्रमशः वितरण गर्दै जाने पनि सहमति भएको छ । यस्तै, करार सेवामा तीन बर्षभन्दा बढी कार्य गरेका प्रशासनिक, प्राविधिक तथा अन्य कर्मचारीहरुलाई प्रतिष्ठानले तय गरेअनुसार परफरमेन्स करार सेवा अन्तर्गत नियुक्त गर्ने पनि सहमति भएको कर्मचारी कल्याण समाजले जनाएको छ ।

bp agrrement