धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चार जना पदाधिकारीहरु उपकुलपतिको कार्यालयमा थुनिएका छन् ।

आन्दोलनरत शिक्षक, कर्मचारीहरुले उपकुलपति कार्यालयबाहिर धर्नालाई निरन्तरता दिएपछि छलफलको लागि बसेका चार पदाधिकारीहरु बाहिरिन नपाएका हुन् । उनीहरु शुक्रबार बिहान ९ बजेदेखि उपकुलपति कार्यकक्षमा प्रवेश गरेका थिए । सोही बेलादेखि शिक्षक, कर्मचारीहरु कार्यकक्ष बाहिर धर्ना दिएर बसेका छन् । यो समाचार तयार पर्दासम्म (राती १० बजे) शिक्षकहरु उपकुलपति कार्यकक्षबाहिर धर्नामा छन् भने पदाधिकारीहरु उपकुलपति कार्यकक्षभित्रै छन् । पदाधिकारीहरुले आफुहरुको मागलाई सम्बोधन नगरेसम्म धर्ना जारी राख्ने शिक्षक कल्याण समाजले जनाएको छ ।

चारै जना पदाधिकारीहरुले संयुक्त अपिल जारी गरेपनि माग सम्बोधन नभएकोले आफुहरुले अस्वीकार गरेको डा. मधुर बस्नेतले बताए । ‘प्रक्रिया रोक्दा एकतर्फी निर्णय गरेर बन्द गर्ने, अनि अहिले अपिलमा चै प्रक्रिया शुरु गर्न पहल गर्ने भनेर मात्र हुन्छ ?’ उनले भने, ‘हाम्रो माग भनेको कुन मितिबाट प्रक्रिया शुरु गर्ने हो, त्यो तोकेर आउनुपर्छ । नत्र हामी धर्ना छोडेर कतै जादैनौं ।’

उपकुलपति कार्यालय भित्र कायममुकाय उपकुलपति प्रा.डा. प्रह्लाद कार्की, रेक्टर प्रा.डा.सञ्जिव शर्मा, रजिष्ट्रार प्रा.डा.सुर्यप्रसाद संग्रौला र अस्पताल निर्देशक डा.जगत नारायण प्रसाद छन् । रजिष्ट्रार डा.संग्रौलाले चारै जना पदाधिकारीहरुले छलफल गरेर संयुक्त अपिल जारी गरेपनि आन्दोलनरत पक्षले स्वीकार नगरेको बताए । ‘हामी त बिहान ९ बजेदेखि नै छलफलमा छौं । संयुक्त अपिल पनि जारी गरिसक्यौं, तर उहाँहरुले मान्नु भएन,’रजिष्ट्रार डा.संग्रौलाले भने,‘उहाँहरु बाहिर बसिरहनु भएको छ, हामी पनि निस्केर जाने अवस्था भएन । एक किसिमले थुनिएकै जस्तो पनि हो ।’  

bp vc office

पदाधिकारीहरुले जारी गरेको अपिलमा बढुवा प्रक्रियालाई निरन्तरताको लागि सरोकारवाला निकायमा सबै पदाधिकारीहरु तथा सरोकारवाला समेतको समुहिकरुपमा गएर सकरात्मक निकास दिने उल्लेख रहेको छ । यस्तै, शिक्षक तथा कर्मचारीहरुको तलब वृद्धिबारे विद्यमान परिस्थितिमा विगतको नजिर एवं संस्थाको निती नियमलाई मध्यनजर गरि पछि समायोजन गर्ने गरि हाल श्रेणीविहिन कर्मचारीहरुलाई मात्र २०८० साउनदेखि निर्वाह भत्तास्वरुप नियम अनुसार उपलब्ध गराउने पनि उल्लेख छ । साथै, आन्दोलनरत पक्षलाई आन्दोलनको कायृक्रमहरु फिर्ता लिन पनि अनुरोध गरिएको छ । यो अपिललाई आन्दोलनरत पक्षले भने स्वीकार गरेको छैन ।

शिक्षकहरुले उपकुलपति डा.कार्कीले स्थगन गरेको आन्तरिक पदोन्नती तथा बढुवा प्रक्रियालाई सुचारु गर्न माग गर्दे आन्दोलनमा उत्रिएको हो । कर्मचारीहरुले पनि वृद्धि भएको तलब र बढुवा प्रक्रियालाई सुचारु गर्न माग राख्दै दिएको अल्टिमेटम पुरा भएसँगै आनदोलनमा उत्रिएका छन् । बषौंदेखि आन्तरिक पदोन्नती एवं बढुवा प्रक्रिया शुरु नहुँदा वृत्ति विकास हुन नपाएर पीडित बनेका शिक्षक, कर्मचारीहरु आन्दोलनमा छन् । कायममुकायम उपकुलपतिमा नियुक्त भएका प्रा.डा.प्रह्लाद कार्कीले बढुवा प्रक्रियालाई स्थगन गरेर लोकसेवा आयोगमा परामर्श माग्दै पत्राचार गरेपछि समस्या शुरु भएको थियो । 

लोकसेवाकै मौन सहमतिमा शुरु भएको बढुवा प्रक्रियामा उपकुलपतिले नै पत्राचार गरेपछि लोकसेवाले पनि नियमावली संशोधन गरेर सोही अनुसार प्रक्रिया गर्न निर्देशन दिएको थियो । लोकसेवाको यो निर्देशनपछि बढुवा प्रक्रियासँगै अन्र्तवार्ता लिइसकेकाहरुको पनि अन्योल सृर्जना भएको छ । शिक्षकहरुले बढुवा प्रक्रियालाई पुनः शुरुवात गर्न माग गर्दै पठनपाठन र परीक्षाका कार्यक्रमहरु बहिष्कार गरेको छ भने प्रत्येक दिन बिहान ८ देखि ९ बजेसम्म उपकुलपति कार्यालयमा धर्ना दिदै आएका छन् ।