धरान: ग्याङ फाइटपछि धरानका उपमेयर अइन्द्रबिक्रम बेघाको घरमा ढुंगामुढा भएको घटनामा दुवै पक्षले प्रहरीमा जाहेरी दिएको छ ।

घटनामा गम्भीर घाइते भएका धरान १५ सुर्य मार्गका सन्देश राईकी आमा विमा राईले २५ बर्षीय विष्णु बेघासहित ५ जना विरुद्ध किटानी जाहेरी दिएकी हुन् । बिष्णु धरानका उपमेयर अइन्द्रबिक्रम बेघाका भाई हुन् । उनीसहित खोरिया बस्तीका २१ बर्षीय मेनल तामाङ, २५ बर्षीय सुरज तामाङ, २३ बर्षीय प्रशान लिम्बु र २१ बर्षीय सन्दिप राईविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएकी हुन् ।

यस्तै, बिष्णु बेघाको दाजु बुद्धिमान बेघाले पनि अर्को समुहविरुद्ध जाहेरी दिएका छन् । घटनामा गम्भीर घाइते भई वीपी प्रतिष्ठानमा उपचारको क्रममा रहेको धरान १५ सुर्य मार्गका सन्देश राईसहित ११ जना युवाहरुविरुद्ध किटानी जाहेरी परेको हो । बेघाले अपराधिक उपद्रवको जाहेरी दिएको हो । 

प्रहरीले भने जाहेरी परेकामध्येका को को विरुद्ध मुद्दा दर्ता भएर म्याद थप गरिएको हो भन्ने खुलाउन चाहेको छैन । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी नविनकृष्ण भण्डारीले दुवै पक्षबाट जाहेरी आएको र अदालती प्रक्रियामा रहेको बताए । उनले भने,‘दुवैतिरबाट जाहेरी आएको छ । अदालती प्रक्रियामा छौं, आज समय लाग्छ । त्यो सकेपछि भोली मात्र विस्तृत जानकारी दिनसक्छौं ।’

खोरिया बस्ती र सुर्य मार्गका हतियारसहितका दुई युवा समुहबीच हिजो ग्याङ फाइट भएको बताइएको छ । उपमेयर बेघाको घरमा पनि सुर्यमार्गका युवाहरुले ढुंगामुढा गरेका थिए । त्यसक्रममा भाई बिष्णु बेघा सामान्य घाइते भएका थिए भने अर्को समुहका सन्देश धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका थिए । उक्त घटनाको अनुसन्धानको क्रममा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको थियो । जाहेरी पछि पक्राउ परेका ८ जना मध्ये ६ जनालाई म्याद थप गर्नृ लगिएको प्रहरी स्रोतको भनाई छ । 

वन समुहद्धारा पनि जाहेरी

बाँझगरा वन उपभोक्ता समुह धरान १५ ले पनि कार्यालय तोडफोड भएको घटनामा अनुसन्धान गरि दोषीलाई कारबाही गर्न माग गर्दै जाहेरी दिएको छ । खोरिया बस्ती र सुर्य मार्गका युवाहरुबीच मंगलबारको घटना पछि राती सुर्य मार्गका युवाहरु वन समुहको कार्यालयको ताला फोडेर लुकेका थिए ।

उनीहरुले वन समुहको किचनमा खाना पकाएका थिए भने कुखुरा काटेर तरकारी पकाउन लाग्दा प्रहरी पुगेको थिए । प्रहरीले २ जना पक्राउ गरेपनि अन्य युवाहरु भने भागेका थिए । ताला तोडफोड भएको उक्त घटनाको अनुसन्धान गरि कारबाही गर्न माग गर्दे प्रहरीमा जाहेरी दिएको वन समुहका अध्यक्ष राजन मोक्तानले बताए ।

भिडियो:

भिडियो: