धरान: चाड पर्वमा हुनसक्ने अपराधिक घटनाहरुलाई नियन्त्रण गर्न ईलाका प्रहरी कार्यालय धरानले आन्तरिक बैठक गरेको छ । 

नजिकिदै गरेको दशैं, तिहार र छठ जस्ता महत्वपुर्ण चाडपर्वहरुलाई लक्षित गरेर धरान प्रहरीले सुरक्षा योजनाबारे बैठक गरेको हो । उक्त बैठकमा धरान प्रहरी प्रमुख डिएसपी नवराज मल्लले भरपर्दो सुरक्षा योजना व्यवस्था गर्नेबारे मातहतका प्रहरी ईकाई प्रमुख र कार्यालयका प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिएका थिए ।  

dharan police1

डिएसपी मल्लका अनुसार आफु मातहतका प्रहरी कर्मचारीहरुसँग छलफल भएको र चाडपर्वमा हुनसक्ने अपराधिक घटनाहरु रोक्न उच्च सतर्कता अपनाउनेबारे ब्रिफिङ र निर्देशन दिइएको हो । 'सामान्य अवस्थामा भन्दा चाडपर्वमा आर्थिक अपराधका घटना बढी हुनसक्छ, त्यसलाई रोक्न के गर्ने, कसरी डिउटी गर्ने भनेर छलफल, ब्रिफिङ भएको हो,'उनले भने,'यो बेला उच्च सतर्कता अपनाएर खटिनुपर्ने हुन्छ ।'

चाडपर्वलाई लक्षित गरेर धरानमा प्रहरीको जनशक्ति पनि थप भएको डिएसपी मल्लले बताए । उनले कति जनशक्ति थपियो भन्ने खुलाउन भने चाहेनन् । उनले भने, 'प्रदेश प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालयमार्फत जनशक्ति पनि थपिएको छ । सुरक्षा व्यवस्था कडा गछौं ।'