धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबार ओपिडी काउन्टर ढिला गरि खुल्दा सयौं विरामीहरुले सास्ती भोगेका छन् । 

प्रतिष्ठानका शिक्षक चिकित्सकहरु बढुवा प्रक्रिया सुचारुको माग गर्दै काठमाण्डौं प्रस्थान गर्ने भएपछि समयमै ओपिडी काउन्टर खुल्न सकेन । ओपिडी कार्ड काट्न र फ्लोअपमा डाक्टर भेट्न आएका विरामीहरु एक घण्टासम्म अलपत्र परेका थिए । सधै बिहान ८ बजे ओपिडी काउन्टर खुल्ला हुन्थ्यो भने ओपिडीमा कार्ड संकलन गरिन्थ्यो । आज बिहान भने डाक्टरहरु काठमाण्डौं जाने भएपछि ओपिडी ९ बजेतिर मात्र खुल्यो ।

बिहानैदेखि ओपिडी विल काट्न लाममा उभिएका विरामी, आफन्तहरु एक घण्टा अलपत्र परे । उनीहरुले समयमा नै जानकारी नदिएको भन्दै आक्रोश पनि पोखे । धरान वडा २ का पशुपति तामाङले सम्बन्धित निकायले ध्यान दिनुपर्ने र विरामीलाई दुःख दिन नहुने बताए । विरामी र आफन्तहरुले आन्दोलन पनि गरेका थिए । 

bo opd

उपचार सेवा प्रभावित हुने भएपछि अस्पताल प्रशासन र विभागीय प्रमुखहरुको आकस्मिक बैठक बसेर ओपिडी र उपचार सेवा सुचारु गर्ने निर्णय भएपछि करिब ९ बजेतिर मात्र ओपिडी काउन्टर खुलेको थियो । अस्पताल डेपुटी निर्देशक डा.इन्द्र लिम्बुले जुनियर फ्याकल्टीहरु काठमाण्डौं जाने भएपछि विभागीय प्रमुखहरुसँग बैठक बसेर निर्णय गर्नुपरेकोले केही ढिलाई भएको बताए । ‘ओपिडी काउन्टर खुलिसक्यो, सेवा पनि सुचारु भइसक्यो,’उनले भने । 

भिडियो: