धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक चिकित्सकहरुले बढुवा प्रक्रिया अघि नबढे पदाधिकारीहरुको बर्खास्त वा आफुहरुको सामुहिक राजिनामा स्वीकृत गर्न माग गरेका छन् ।

आन्दोलनरत शिक्षकहरुले आइतबार पत्रकार सम्मेलन गर्दे यस्तो माग गरेका हुन् । आफुहरुले असोज २६ गतेदेखि लागु हुने गरि सामुहिक राजिनामा दिइसकेको जानकारी दिदै प्रतिष्ठानलाई अनिर्णयको बन्दी बनाउने पदाधिकारीहरुलाई बर्खास्त गर्नुपर्ने शिक्षक कल्याण समाजका अध्यक्ष डा.सेराज अहमद खानले बताए । आफुहरु पठनपाठन र उपचार सेवा बहिष्कार गरेर आन्दोलनमा उत्रनुपर्ने बाध्यात्मक अवस्था पदाधिकारीहरुको अर्कमण्यताले नै सृर्जना गरेको पनि उनले बताए । 

प्रतिष्ठानमा विगत ७ बर्षदेखि बढुवा प्रक्रिया अवरुद्ध हुँदा १७७ जना एसिस्टेन्ट प्रोफेसर, एडिस्नल प्रोफेसर र एशोसिएट प्रोफेसरहरुको वृत्ति विकास हुन सकेको छैन । उनीहरुले सहकुलपति एवं स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर सामुहिक राजिनामा बुझाइसकेका छन् ।

भिडियो:

कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीले जारी रहेको बढुवा प्रक्रियाबारे लोकसेवा आयोगलाई राय मागेपछि आयोगले नियमावली संशोधन गरेर मात्र गर्नु भन्ने निर्देशन दिएका थिए । यो निर्देशन पछि आन्दोलित बनेका शिक्षकहरुसाग एक महिनाभित्र बढुवा प्रक्रिया शुरु गर्ने सहमति पदाधिकारीहरुले गरेपिन पालना नहुँदा पुनः शिक्षकहरु आन्दोलनमा छन् । 

शिक्षकहरुको आन्दोलनले विद्यार्थीहरुको पठनपाठन र परीक्षाको कार्यक्रम अवरुद्ध भएको छ भने उपचार सेवा पनि प्रभावित छ । प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.सुर्यप्रसाद संग्रौलाले आफुहरु समस्या समाधान गर्न लागिपरेको भन्दै शिक्षकहरुलाई आन्दोलन फिर्ता लिन पनि आग्रह गरेका छन् । आन्दोलनले विद्यार्थीको पठनपाठन र विरामीहरुको उपचार सेवा प्रभावित भएकोले पुर्नविचार गर्न आह्वान गरेका छन् । 

bp doc 1

bp doc1