विराटनगर: ६८ औं प्रहरी दिवस २०८० को अवसरमा बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ट ट्राफिक प्रहरी पुरस्कार प्रहरी सहायक हवल्दार चन्द्रकला भट्टराई राई प्रदान गरिएको छ । 

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीमा कार्यरत भट्टराईलाई २५ हजार धनराशीको उक्त पुरस्कार प्रदान गरिएको हो । प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने मध्येबाट १ जना ट्राफिक प्रहरी कर्मचारीलाई यो पुरस्कार प्रदान गरिन्छ । प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालय बिराटनगरले मंगलबार भट्टराईलाई पुरस्कृत गरेको हो ।

भट्टराईले सरोकारवाला निकायहरुसंग समन्वय र सहकार्य गरी ट्राफिक जनचेतना मुलक कार्यक्रमहरु संचालन गरेको र इटहरी उप(महानगरपालिकासंग समन्वय गरी फोटो, भिडियो संकलनका लागी १ थान क्यामेरा समेत उपलब्ध गराउन महत्वपुर्ण भुमिका निर्वाह गरेकी थिइन् । पुरस्कृत भट्टराईलाई अक्षय कोषका संस्थापक बद्री बिक्रम थापा (गोदार)ले २५ हजारको चेक तथा प्रशंसा(पत्र प्रदान गरेका थिए । 

trafic prizee

सवारी दुर्घटनामा १८ बर्षको कलिलो उमेरमा दिवंगत भएका आफ्ना छोराको स्मृतिमा थापाले कोशी प्रदेश अन्तर्गत ट्राफिक दुर्घटना न्युनिकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक अनुसन्धान क्षेत्रमा उत्कृष्ट कार्य गर्ने एक जना प्रहरी कर्मचारीलाई पुरस्कार वितरण गर्ने गरि अक्षयकोष स्थापना गरेका थिए । प्रहरी कर्मचारीहरुको मनोवल र उत्प्रेरणा बढाउने उद्देश्यले उनले ५ लाख रुपैयाको अक्षयकोष स्थापना गरेर ६७ औं प्रहरी दिवसबाट पुस्कारको शुरुवात गरेका थिए । प्रहरी दिवसको अवसरमा अक्षय कोषका संस्थापक थापालाई प्रमुख अतिथि एवं मुख्यमन्त्री केदार कार्कीले दोसल्ला ओढाएर सम्मान पनि गरेका थिए ।