धरान: सँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले धरानमा विमानस्थल निर्माण अध्ययन समिति तत्काल गठन गर्न नागरिक उड्यन महानिर्देशकलाई निर्देशन दिएका छन् । 

मेयर हर्क साम्पाङले धरानमा विमानस्थल निर्माण गर्न आवश्यक पहल तथा सहजीकरण गर्न आग्रह गर्दै मन्त्रालयलाई हिजो पत्राचार गरेका थिए । पत्र पठाएकै भोलीपल्ट आज बिहान मन्त्री किरातीले अध्ययन समिति गठन गर्न महानिर्देशकलाई निर्देशन दिएको सामाजिक सञ्जाल फेसबुक पेजबाट जानकारी दिएका छन् । उनले भनेका छन्,‘धरानमा विमानस्थल निर्माण अध्ययन समिति तत्काल गठन गर्न नागरिक उड्यन महानिर्देशकलाई निर्देशन गरिएको छ ।’

स्थानीयबासीले विगतको लिखित सम्झौता वमोजिम जग्गा फिर्ताको माग गर्दै आएपछि यतिलाई पत्राचार गरेका थिए । यतिले कार्तिक ९ गते उपमहानगरपालिकालाई पत्राचार गर्दै जग्गा खरिद गरेर विमानस्थल बनाउने प्रयास गरेपनि अनुमति नपाएको जवाफ दिएको थियो । यतिको यो जवाफ पछि मेयर साम्पाङले कार्तिक २२ गते यतिले पठाएको पत्रसहित धरानमा एयरपोर्ट निर्माणको लागि आवश्यक पहल तथा सहजीकरण गर्न आग्रह गर्दे मन्त्रालयमा पत्राचार गरेका थिए । 

airport letter

धरान १७ स्थित डाँडाघोपामा विमानस्थल बनाउने भन्दै यति इन्करपोरेटेड प्रालिले दुई दशकअघि स्थानीयबासीसँग सस्तो मुल्यमा जग्गा खरिद गरेका थियो । तत्कालिन नगर प्रमुख कुमारबहादुर कार्की, पुर्वनगरप्रमुख मनोजकुमार मेन्याङ्बोलगायतको पहल र रोहबरमा विमानस्थल निर्माण नभए यतिले खरिद गरेकै मुल्यमा जग्गा साविक जग्गाधनीलाई फिर्ता गर्ने लिखित सम्झौता पनि भएको थियो ।

अहिले २ दशक बित्दा पनि विमानस्थल नबनेपछि स्थानीयबासीले सम्झौता वमोजिम जग्गा फिर्ता हुनुपर्ने माग गर्दै आएका छन् । यो बिषयमा मेयर साम्पाङले जग्गाधनीहरुसँग पटक पटक छलफल गरेका थिए । उनले यतिका प्रतिनिधि र पुर्वमेयर मेन्याङ्बोलाई छलफलमा बोलाएपनि आउन अस्वीकार गरेका थिए ।