धरान: मंसिर १५ र १६ गते धरानमा दुई दिने धरान म्युजिक फेस्ट २०८० आयोजना हुने भएको छ । 

लामो समयको अन्तरालपछि पब्लिक हाईस्कुलको मैदानमा भब्य म्युजिकल  कन्सर्ट 'धरान म्युजिक फेस्ट २०८०' आयोजना हुने भएको हो। म्युजिक फेष्टमा स्थानीय तथा नयाँ कलाकारहरुलाई समेत बिशेष स्थान दिईने आयोजकले जनाएको छ । पहिलो दिन शुक्रबार युवा पुस्तामाझ लोकप्रिय ब्याण्ड 'पहेंलो बत्ति मुनि' को प्रस्तुती हुनेछ भने  धोकेबाज हौ तिमी गीत बाट चर्चामा आएकी लोकप्रिय गायिका एलिना चौहानको बिशेष प्रस्तुति रहनेछ। 

'पहेंलो बत्ति मुनि' को गौंथली , लोरी, बरी लै , म बाटो हिँड्ने लगायतका गीतहरु युवाहरु माझ निक्कै नै चर्चित छन् । यसैगरि,  व्यस्त गायिका एलिना चौहानको धोकेबाज संगै भाग्यमा खोट छ, तिम्रो मायाले बाँधेर राख , के माया लाग्छ र लगायतका थुप्रै गीतहरु लोकप्रिय छन्। उनी पहिलो पटक धरानमा आफ्नो प्रस्तुति दिन आउन लागेकी हुन् । 

सोही दिन धरानको सबमर्ज ब्याण्डले समेत आफ्नो प्रस्तुति दिनेछन्। म्युजिक फेस्टको दोस्रो दिन शनिबार चर्चित गायिका तथा भ्वाईस अफ नेपाल की कोच मिलन नेवार र अहिले निक्कै चर्चामा आइरहेका धरानका प्रतिभावान गायक पूर्ण राईको बिशेष प्रस्तुति रहनेछ। जहिले सम्म संसार , गाला रातै , इट्स स्लोली , फुल बुट्टे सारी जस्ता थुप्रै चर्चित गीतहरुकी गायिका मिलनको पनि धरानमा आउटडोर पहिलो कन्सर्ट हो ।

धरानको सांगीतिक प्रतिभा पूर्ण राईको गीत 'तिमी सेतो चिल्लो गाडी' करीब एक महिनादेखि युट्युबको संगीत विधा तर्फ नेपालको ट्रेन्डीङ्गमा पहिलो स्थानमा रहिरहेको छ। त्यस्तै उनको 'मनका कुरा'ले युट्युबमा १७ मिलियन बढी भ्युज पाईसकेको छ भने उनको धुर्वतारा , स्पर्शसंगीत , बिराम लगायतका अन्य गीतहरु पनि युवाहरु माझ निक्कै नै रुचाईएका छन्। धरानमा उनी आफ्नो पहिलो ठुलो कन्सर्टमा आफ्नो ब्याण्ड दाजुभाईहरुसंगै प्रस्तुति दिनेछन् । 

उक्त दिन धरानकै लासोज ब्याण्ड र दिब्यासन घिमिरेको समेत प्रस्तुति रहनेछ। त्यस्तै धरानमा रहेर नेपाली संगीत क्षेत्रमा योगदान दिने केही संगीतकर्मीहरुलाई 'धरान म्युजिक फेस्ट २०८० 'को स्टेजमा सम्मान समेत गर्ने योजना आयोजकको रहेको छ।  

साउण्ड र लाईट व्यवस्थापनको जिम्मा सुन्दर साउण्डले लिएको छ भने कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न सम्पूर्ण तयारी अघि बढेको आयोजक सिल्भर इन्टरटेनमेन्टले जनाएको छ। कन्सर्टमा प्रवेशको लागि  टिकट दर २०० र ३०० व्यवस्था गरिएको आयोजकको भनाई छ।