धरान: डिपो स्कुल धरानको आयोजनामा आज (शुक्रवार)देखि १८ औ ललित अम्वर डिपो कप शुरु भएको छ । 

मंसिर २२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं एन्फा कोशी प्रदेशका अध्यक्ष किशोर राईले पानसमा दिप प्रज्वलन गरेर गरेका थिए । उनले रेफ्रिलाई वल हस्तान्तरण गरेपछि उद्घाटन खेल सुरु भएको थियो । डिपो स्कुल व्यवस्थापन समितिका सदस्य दिपवहादुर राईको अध्यक्षतामा उद्घाटन समारोह भएको थियो । 

डिपो स्कुलको खेल मैदानमा भएको उद्घाटन खेलमा हिमशिखर स्कुल तरहरा विजयी भएको छ । प्रतिस्पर्धात्मक खेलमा हिमशिखरले आयोजक डिपो स्कुललाई १–० गोल अन्तरले पराजित गर्यो । खेलमा पहिलो हाफको १८ औ मिनटमा हिमशिखरका मन्जिल श्रेष्ठले निर्णायक गोल गरेका थिए । 

depo cup2

खेलको म्यान अफ द म्याच डिपो स्कुलका स्पन्दन राई घोषित भए । उनले ट्रफि र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको पहिलो चरणको खेलमा पराजित टिमले दिल वहादुर प्लेट च्याम्पियन प्रतियोगिता खेल्ने अवसर पाउनेछ । 

प्रतियोगिताका विजेताले नगद ११ हजार १ सय ११ रुपैया, उपविजेताले ७ हजार १ सय ११ र तेस्रो हुनेले ५ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसै गरि प्रतियोगिताको उत्कुष्ट खेलाडी, हाइस्कोरर र प्रत्येक खेलका म्यान अफ द म्याचले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

depo cup3

    सुनसरी जिल्ला स्तरिय प्रतियोगिताको १८ औ संस्करणमा धरानका १२ र धरान वाहिरका ४ विद्यालयले सहभागिता जनाएको छ । सहभागी विद्यालयहरुमा धरानबाट आयोजक डिपो, कार्मेल स्कुल, नेपाल पुलिस, एक्वा सेकेन्डरि, माउन्ट हर्मन, दिल्ली पव्लिक, विष्णु मेमोरियल, देउराली चिल्ड्रेन, हिविकस, मेरिल्याण्ड, प्रभात र समिट स्कुलले सहभागिता जनाएको छ । यसैगरि धरान बाहिरबाट हिमशिखर तरहरा, मर्निङ्ग स्टार भरौल, वराह राइजिङ्ग स्टार र लर्ड वुद्ध स्कुल रामधुनीबाट सहभागिता जनाएको छ । 

तस्विरः विकास चाम्लिङ राई