काठमाण्डौं: विभिन्न विकासका एजेण्डाहरु लिएर काठमाण्डांै आएका धरानका मेयर हर्क साम्पाङ र उपमेर अइन्द्रबिक्रम बेघा मंगलबार दिउँसो सिंहदरबारस्थित वन तथा वातावरण मन्त्री डा.विरेन्द्रप्रसाद महतोलाई भेट्न पुगेका थिए ।

मेयर, उपमेयर र वनमन्त्रीसँगको भेटवार्ता निक्कै रोचक भयो । माग पत्र बुझाइसके पछि मन्त्री महतोले वनले गर्नुपर्ने काम मेयर साम्पाङले गरिरहेको भन्दै धन्यवाद दिएका थिए । उनले भने,‘सर्वप्रथम तपाईलाई धन्यवाद । वनले गर्नुपर्ने काम तपाईले रुख रोपेर गरिरहनुभएको छ । जति धन्यवाद दिएर पनि कम हुन्छ ।’ 

त्यसपछि, मेयर साम्पाङले हात्ति आतंकको प्रसंग उठाउदै जंगलको बीच बीचमा केराको रुख रोप्न अनुमति मागे । उनले भने, ‘तपाईहरुले अनुमति दिनुभयो भने म रोप्छु ।’ 

वन मन्त्रीले मेयर साम्पाङलाई तत्कालै भने,‘रोप्नु न के अनुमति लिनुपर्यो ?’

जवाफमा मेयरले भने, ‘कहाँ ! छिर्नुबित्रिकै के के आइपर्छ ?’

वनमन्त्री महतोले प्रक्रियामा जादा कामै गर्न नदिने र ५ बर्ष त्यतिकै बित्ने बताउदा हाँसो गुञ्जिएको थियो । ‘नगरपालिकाबाट निर्णय गरेर फटाफट गर्नुस् न । प्रक्रियामा जानुभयो भने कामै गर्न दिदैन, ५ बर्ष त्यतिकै जान्छ,’मन्त्री महतोले भने,‘त्यो त हामीलाई फाइदा हुने चिज न हो, रुख काट्न गइरहेको छैन, रोप्न गइरहेको छ, अनि त्यसमा के को प्रक्रिया ?’

वनमन्त्री महतोले हात्ती आतंकले कृषकहरुलाई गाह्रो बनाएको र हरेक महिना २, ४ जना मान्छे मरिरहेको उल्लेख गर्दै थप भने,‘नगरपालिकाबाट मन्त्रालयलाई जानकारी गराइएको छ, रुख नकाटी, नोक्साी नहुने गरी गर्न लागेको भनेर जानकारी गराइदिनु न ।’

वन मन्त्रीको अभिव्यक्तिले खुशी हुदै मेयर साम्पाङले भने, ‘चारकोसेमा बीच बीचमा खाल्डो खानेर पानी जमायो, र केरा रोप्यो भने हात्ति जंगलभित्रै अलमलिन्छ ।’ 

फेरि मन्त्री महतोले भने,‘केरा खेती त गरिहाल्नुस् त । बडो गज्जब लाग्यो ।’ 

भेटवार्ताकै क्रममा सञ्चारकर्मीको प्रश्नमा मन्त्री महतोले विरुवा रोपेर पर्यावरण जोगाउने मेयर साम्पाङको काम सह्रानीय भएको बताए । उनले भने, ‘म जहाँ जहाँ जान्छु, त्यहाँ भनिरहेको छुँ । उहाँको उदाहरण दिइरहेको छुँ, पर्यावरण बचाउनुपर्छ ।’ 

मेयर साम्पाङलाई कुनै दिन अवार्ड पठाउने बताउदै मन्त्री महतोले फलफुलको रुख पनि रोप्नु सुझाव दिए । सामुदायिक वनहरुलाई आम्दानीको स्रोत पनि हुने उनले बताए । 

मेयर साम्पाङले मन्त्रीसँग के के गरे माग ?

mayor

मेयर साम्पाङले बहुसाँस्कृतिक पार्कको लागि बजेट विनियोजन भएको तर ठेगाना सच्याउनुपर्ने अनुरोध पत्र मन्त्री महतोलाई बुझाए । त्यसपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण गर्न जग्गा प्राप्तीको प्रक्रिया अघि बढाइएको र जिल्ला सुरक्षा समितिबाट गृहमन्त्रालयलाई पत्राचार गरेको जानकारी दिदै मेयर साम्पाङले जग्गा उपलब्ध गराउन मन्त्री महतोलाई आग्रह गरेका थिए ।

यस्तै, नडाहा धरान सडकको बीचमा ७ वटा रुख पर्ने जानकारी गराउदै मेयर साम्पाङले प्रदेशबाट इआइए गरेर पठाएकोले रुख काट्ने अनुमति दिन आग्रह पनि गरे । वनमन्त्री महतोले ट्राफिकको कार्यालय निर्माणार्थ सामुदायिक वन, वडा र नगरबाट सिफारिश गरेर सिधै मन्त्रालयमा पठाइदिन आग्रह गरेका थिए ।

यसैगरि, मेयर साम्पाङले धरानले फोहोर मैला व्यवस्थापन जंगलमा गर्दै आएको र त्यहाँ ल्याण्डफिलसाइट बनाउन अध्ययन गर्ने टोली आएको जानकारी दिए । उक्त क्षेत्रको जग्गा आवश्यक परेकोले उपलब्ध गराउन पनि मेयर साम्पाङले आग्रह गरेका थिए । मन्त्रालयका अधिकारीले प्रचलित कानुन वमोजिम आइइए, इआइए गरेपछि प्रदेश मन्त्रालयबाटै स्वीकृत मिल्ने जानकारी दिएका थिए ।

भिडियो: