धरानः प्रहरीले धरान र इटहरीबाट सडक बन्द गराउन हिडेका १५ जना पहिचानवादी आन्दोलनकारीहरुलाई नियन्त्रणमा लिएको छ । 

पक्राउ परेका नेता, कार्यकर्ताहरुलाई निःसर्त रिहाईको माग गर्दै प्रदेश बन्द आह्वानको क्रममा प्रहरीले आज बिहान धरान र इटहरीबाट १५ जनालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरीका अनुसार धरान १३ शिवधारास्थित पेट्रोल पम्प र धरान २ माछाभौडी क्षेत्रबाट गरि ९ जनालाई पक्राउ गरेको हो । ईटहरी ४ बुढीखोलास्थित पूर्व पश्चिम राजमार्गबाट ६ जना बन्दकर्ताहरूलाई समेत प्रहरीले नियन्त्रण लिएको छ । 

आन्दोलनरत पक्षका अनुसार धरानबाट पहिचानबादी नेताहरु रमेश राई, चन्द्रमाया लिम्बु, अमित राई, बिस्णु तिगेला लिम्बु, पदम तामाङ, महेन्द्र गुरुङ, शिब इस्बो लिम्बु, सागर धामी र टि.एन. सुब्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै, भर्खरै माछाभौडीबाट थप ३ जनालाई नियन्त्रणमा लिएको तर नाम खुलिनसकेको जसपा धरानका अध्यक्ष ताजुब लिम्बुले जानकारी दिए । यस्तै, ईटहरीबाट विद्यार्थी नेता लक्ष्मण खवाहाङ लिम्बु, तारा प्रसाद राई, आईतराज लिम्बु, सरिता लोहोरुङ लगायत नेताहरु पक्राउ परेका छन् । 

एमालेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको समृद्धि यात्रामा अवरोध गर्न खोजेको आरोपमा गोपाल किरातीसहित दुई दर्जन बढी पहिचानवादी नेता, कार्यकर्ताहरु पक्राउ परेका थिए । उनीहरुलाई निःसर्त रिहाईको माग गर्दै प्रदेश नं १ पुनःनामांकन संयुक्त संघर्ष समितिले शनिबार र आइतबार २ दिन प्रदेशभरि बन्द आह्वान गरेको हो ।