धरान: सार्वजनिक कार्यक्रमहरुमा ज्यादै कम देखा पर्ने र भाषण गर्ने काठमाण्डौंका मेयर बालेन साहले सरप्राइज दिदै शुक्रबार धरान उत्सवको उद्घाटन समारोहमा सहभागी मात्र भएनन्, करिब ९ मिनेट भाषण पनि गरे । 

उनी आउने चर्चा भएदेखि नै सुन्न ब्यग्र प्रतिक्षा गरिरहेका धरानेहरुलाई पनि मेयर साहले निराश बनाएनन् । उनले धरान, धरानबासी र मेयर साम्पाङको कामको प्रशंसामा थुप्रै शब्द खर्चिए । उनको भाषण सुनेर तालीको र हुटिङको बर्षा भइरह्यो । मेयर साहले आफु सानो हुँदा नै धरान फेमस सहरकोरुपमा सुनेको बताए । घोपा क्याम्प, त्यसपछि सफा बाटोघाटोको सहर भनेर आफुले सुनेको धरानलाई सरकारले पैसा दिन पर्दैन, यहीका मान्छेले पैसा लगाएर धरान बनाउछन् भन्ने सुनेको पनि उनले बताए । 

dharan day

अहिले २० बर्षपछि पुनः धरान मेयर साम्पाङ र धरानबासीहरुको कारण देशविदेशमा चर्चित भएको मेयर साहले बताए । ‘श्रम सँस्कृतिलाई देशमा मात्र नभएर विदेशमा पनि चर्चित बनाउनुभएको छ । सरकारले पैसा दियोस्, नदियोस् म आफ्नो काम गर्छु भन्ने ठुलो उदाहरण दिनुभएको छ, तपाईहरुलार्य शुभकामना,’ मेयर साहले भने, ‘जसरी यहाँ पोडियमा हामीले भाषण गरिरहेका छौ, तर त्यहाँ (रोटेपिङतर्फ संकेत गर्दै) बच्चाहरु खेलिरहेका छन्, मतलब छैन कस्ले बोल्दैछ, के गर्दैछ,’ मेयर साहले भने, ‘धरान पनि त्यस्तै सहर हो । देशमा जो सुकैले जे सुकै गरोस्, धरानलाई मतलब छैन, धरानले आफ्नो काम गर्छ । सरकार जोसुकैको आओस्, प्रदेश सरकार जो सुकैको आओस्, धरानलाई केही फरक पर्दैन, धरानले आफै धरान बनाउछ ।’

 मेयर साहले काठमाण्डौंभन्दा २, ३ वटा कुरामा धरान अघि भएको सुनाउदै भने–‘ श्रमसँस्कृति होस्, यहाँको सुशासन होस, अनुशासन होस् । अझै धरान त फेसनको लागि पनि फेमस छ ।’ उनले गीतसंगीतमा पनि धरान अग्रणी रहेको भन्दै वरिष्ठ गायक दिप श्रेष्ठ र सविन राईलाई सम्झिए । गायक दिप श्रेष्ठलाई सम्मान गरिएको थियो । उनले गायक श्रेष्ठलाई भेट्न पाउदा खुशी लागेको पनि बताए । 

balen saha1

मेयर साहले धरानका मेयरको श्रमदान अभियानको प्रशंसा गर्दै देशमा मात्र नभएर विदेशमा पनि लोप हुदै गएको श्रमसँस्कृतिलाई अघि बढाएको बताए । ‘त्यति टाढाबाट आफैले श्रोतसाधन जुटाएर पानी ल्याउन सफल हुनुभएको छ । त्यो उदाहरण मात्र हो, त्यो सबैले सिक्नुपर्छ । ७५३ वटै पालिकाले सिक्नुपर्छ, प्रदेशले सिक्नुपर्ने, सांसदहरुले सिक्नुपर्ने उदाहरण हो,’ उनले भने,‘देशको सांसदलाई हर्क साम्पाङले गरेको काम गर्न कुन कानुनले रोकेको छ । कुनै पनि पावर चाहिदैन, कुनै स्रोत चाहिदैन । इच्छाशक्ति देखाएमा सबै काम गर्न सक्छ भन्ने उदाहरण देखाउनुभएको छ । यो कुरा बिशेष गरि सांसदहरुले सिक्नुपर्ने छ ।’ 

धरानका मेयरबाट सिक्नुपर्ने सबैभन्दा महत्वपुर्ण कुरा प्राकृतिक स्रोतसाधनको जर्गेना गर्नुपर्ने रहेको पनि उनले बताए । ‘रुखविरुवा, खोलानाला, पहाड, ढुंगा माटो हजारौं बर्षअघि पनि थियो, अहिले पनि छ । त्यो जोगाउनुपर्छ भन्ने कुरा धरानबाट सिक्नुपर्छ,’ मेयर साहले भने । 

भिडियो: