धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायम मुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीले शिक्षक तथा कार्मचारीहरुको बढुवा प्रक्रिया अघि बढाउन सकरात्मक पहल गरिए पनि कुनै पनि निकायबाट लिखित निर्देशन नआएको बताएका छन् ।

प्रतिष्ठानका शिक्षक, कर्मचारीहरु बढुवा प्रक्रिया सुचारु गर्न माग गर्दे पुनः आन्दोलनमा उत्रिएपछि आज उपकुलपति डा.कार्कीले अपिल जारी गर्दै यस्तो बताएका हुन् । उनी विदामा बसेको भएपनि आज प्रतिष्ठानको लेटरप्याडमा अपिल जारी गरेका छन् । उनले विगतमा गरिएको बढुवा प्रक्रियाको विज्ञापनलाई वैधानिकता दिएर अघि बढ्ने असल नियतका साथ लोकसेवा आयोग, सहकुलपति र सम्बन्धित निकायमा पटक पटक पहल गरिएको पनि उल्लेख गरेका छन् । ‘यसका बाबजुद कुनैपनि निकायबाट प्रक्रिया अघि बढाउन आधिकारिकरुपमा लिखित निर्देशन नआएको कुरा प्रष्ट्याउन चाहन्छु,’अपिलमा भनिएको छ,‘राज्यको कानुन बाहिर जाने अधिकार जो कोहीलाई नहुने कुरामा दुईमत नरहनेमा स्पष्ट छुँ ।’

कार्कीले प्रतिष्ठानका सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्रीले पनि मंसिर १९ र २० गते प्रतिष्ठान भ्रमणको क्रममा ‘ऐन नियम अनुरुप विधि पुर्याएर लोक सेवा आयोग समेतको परामर्शमा बढुवा प्रक्रिया अघि बढाउने’ निर्देशन दिएको अपिलमा उल्लेख गरेका छन् । प्रतिष्ठानका शिक्षक, कर्मचारीहरुको लामो समयदेखिको बढुवा सम्बन्धी बिषयमा गम्भीर ध्यानाकर्षण भएपनि राज्यको नियमभित्र रहेर सहकुलपतिको निर्देशन पालाना गर्नु जिम्मेवार पदाधिकारीको कर्तव्य भएको पनि उनले बताएका छन् । साथै उनले आफ्नो पारिवारिक कारणले अचानक अत्यवश्यक परी केही दिन विदामा बस्नुपरेको पनि उनको दाबी छ । 

bpkihs vc appeal