धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीलाई तत्काल बर्खास्त गरेर गतिरोध अन्त्य गर्न आन्दोलनरत शिक्षक कर्मचारीहरुले कुलपति एवं प्रधानमन्त्रीलाई अनुरोध गरेका छन् । 

शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजको संयुक्त बैठकले निर्णय गरेपश्चात प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिहिबार नै पत्राचार गर्दै आन्दोलनरत पक्षले का.मु.उपकुलपति डा.कार्कीलाई बर्खास्त गर्न माग गरेका हुन् । प्रतिष्ठानका शिक्षक कर्मचारीहरुको अवरुद्ध भएको बढुवा प्रक्रिया सुचारु गर्न प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीबाट पनि निर्देशन भइसकेको र गत कार्तिक २० गते भएको वार्तामा पुष २ गतेबाट प्रक्रिया सुचारु गर्ने सहमति भएपनि का.मु.उपकुलपतिले अनेक बाहाना गरेर प्रक्रिया रोकिराखेको प्रधानमन्त्रीलाई पठाएको पत्रमा उल्लेख छ । 

उपकुलपति डा.कार्की आफैले हिजो बुधबार कार्यकारिणी समिति बैठक बोलाएर अनुपस्थित भएकोले गैरजिम्मेवार व्यक्तिबाट हाल प्रतिष्ठानको गतिरोध अन्त्य नहुने देखिएकोले उनलाई बर्खास्त गर्न र प्रतिष्ठान थप धरासायी हुनबाट जोगाउन पनि शिक्षक कर्मचारीहरुले प्रधानमन्त्रीसँग माग गरेका छन् ।

संस्थाको निमित्त, कायममुकायम प्रमुख भई कार्य गर्न निज व्यक्ति संस्थाको वहालवाला शिक्षक, कर्मचारी हुनुपर्ने सर्वमान्य सिद्धान्त साथै प्रतिष्ठानको ऐन, नियमावलीले समेत परिकल्पना गरेको उक्त पत्रमा उल्लेख छ । तर, डा.कार्की मंसिर ५ गते नै उमेरको हदले अनिवार्य अवकाश पाइसकेको अवस्थामा उनलाई का.मु.उपकुलपतिमा वहाल गरिराख्नु कानुनी दृष्टिले पनि गलत देखिने पत्रमा उल्लेख छ । 

bp press