धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत शिक्षक, कर्मचारीहरुले कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीलाई प्रतिष्ठानमा निषेधित क्षेत्र घोषणा गरेका छन् ।

बढुवा प्रक्रियालाई सुचारु गर्न माग गर्दै शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले संयुक्त आन्दोलन घोषणा गर्दै का.मु.उपकुलपति डा.कार्कीलाई प्रतिष्ठानमा निषेधित क्षेत्र घोषणा गरेका हुन् । उनीहरुले आज (बिहिबार) र्याली निकाल्दै प्रतिष्ठानको मुल गेट, डेन्टल गेट र उपकुलपति कार्यालयमा ब्यानर राख्दै निषेधित क्षेत्र घोषणा गरेका हुन् । उपकुलपति डा.कार्कीले कार्यकारिणी समिति बैठक बोलाएर सहभागी हुन आए मात्र प्रवेश गर्न दिइने कर्मचारी कल्याण समाजकी अध्यक्ष कविता ढकालले बताइन् ।

उपकुलपति डा.कार्कीसहित अन्य पदाधिकारीहरुलाई आइतबारसम्म का.स. बैठक राख्न समय दिइने र त्यस समयभित्र पनि समाधान गर्न पहल नभए सशक्त आन्दोलन गर्न बाध्य हुने शिक्षक र कर्मचारी समाजले जनाएको छ । शिक्षक र कर्मचारी कल्याण समाजको संयुक्त बैठक बसेर आजै आन्दोलनको नयाँ कार्यक्रम तय गर्ने पनि अध्यक्ष ढकालले बताइन् । ‘आइतबारसम्मको समय दिन्छौं, का.स.बैठक बसेर हाम्रो अन्तर्वार्ताको मितिबारे निर्णय होस्, नत्र कडा आन्दोलन गर्न बाध्य हुनेछौं,’उनले भनिन् ।

bpkihs vc office

गत कार्तिक २० गतेको आन्दोलनरत शिक्षक र कर्मचारीसँग छुट्टा छुट्टै ४ बुँदे सहमति भएको थियो । उक्त सहमति अनुसार विधि, प्रक्रिया पुरा गरेर पुष १ गतेदेखि १५ गतेसम्म अन्तर्वार्ता गर्नुपर्ने थियो, तर पुष २५ गतेसम्म पनि सुचारु नभएपछि  शिक्षक कर्मचारीहरु पुनः आन्दोलित भएका हुन् । सोही बिषयमा निर्णय गर्न हिजो (बुधबार) का.स.बैठक बोलाइए पनि कायममुकायम उपकुलपति कार्की नै विदामा बसेपछि बैठक बस्न सकेन । बैठकमा नआएपछि आक्रोशित शिक्षक कर्मचारीहरुले कायममुकामय उपकुलपति डा.कार्की प्रमुख रहेको कार्डियोलोजी विभागको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

लोकसेवाबाट ग्रिन सिग्नल आएको छ: रजिष्ट्रार

प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.सुर्य संग्रौलाले आन्दोलनरत पक्षको माग न्यायोचित रहेको र पटकपटक सहमति पनि गरेकोले व्यवस्थापनले बढुवा प्रक्रियालाई सुचारु गर्नुको विकल्प नभएको प्रतिक्रिया दिएका छन् ।

bp rajistrar

विगतमा लोकसेवा आयोगको पत्रले गर्दा प्रक्रिया रोकिएको भएपनि आयोगसँग पटकपटक छलफल गरेर ग्रिन सिग्नल पाइसकेको हुनाले पनि का.स.बैठकबाट निर्णय गरेर अघि बढ्नुपर्ने उनले बताए । तर, उपकुलपति निर्णय गर्न डराइरहेकोले अहिलेको स्थिति सृर्जना भएको पनि उनले बताए । 

रजिष्ट्रार डा.संग्रौलले अबको विकल्प भनेको आफुहरुले निर्णय गरेर प्रक्रिया अघि बढाउनुपर्ने कि पद छोड्नुपर्ने मात्र रहेको पनि बताए । उनले भने,‘आयोगबाट ग्रिनसिग्नल पाएका छौं । शिक्षक कर्मचारीसँग सहमति पनि गरेका छौं, अब दाँयाबाँया गर्ने स्थिति छैन । कि पद छोड्नुपर्छ, कि निर्णय गरेर अघि बढ्नुपर्छ ।’

रजिष्ट्रार डा.संग्रौलाले वर्तमान परिस्थितिबारे मन्त्रालयमा पनि जानकारी गराइसकेको बताए । साथै, कायममुकायम उपकुलपतिलाई पनि कार्यालयमा आएर निकास दिन आफुले पत्राचार गरेको जानकारी रजिष्ट्रार डा.संग्रौलाले दिए । उनले आन्दोलनरत पक्षलाई पनि पठनपाठन र उपचार सेवालाई बाधा नपर्ने गरि दबाब दिन आग्रह पनि गरेका छन् । ‘हामी पनि साथमा छौं, सेवा ग्राहीलाई र पठपाठनमा बाधा नपारि प्रेसर दिनुस् भन्ने अनुरोध गरेका छौं,’उनले भने,‘का.मु.उपकुलपति आएर चाडै का.स.बसेर निकास निकाल्नुपर्छ, हामी प्रयन्त गछौं ।’

भिडियो: