धरान: मोटरसाइकल र स्कुटर पार्किङमा पनि १० रुपैया शुल्क असुली भइरहेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरानले हस्ताक्षर संकलन अभियान गरिरहेको छ । 

धरान उपमहानगरपालिकाले गैरकानुनीरुपमा ठेक्का लगाएर पार्किङ शुल्क असुली गरिरहेको भन्दै हिजो (बिहिबार) देखि विरोधमा हस्ताक्षर संकलन अभियान थालेको हो । पहिलो दिन भानुचोकमा हस्ताक्षर संकलन गरेको रास्वपाले दोस्रो दिन (शुक्रबार) माछा भौडीमा र पुतलीलाइनमा हस्ताक्षर संकलन गरेको छ । सर्वसाधारण जनताको राय पनि संलकन गर्ने उद्देश्यले आयोजित यो अभियान भोली शनिबारसम्म जारी रहने रास्वपाले जनाएको छ । 

रास्वपाले पार्किङ शुल्क असुलीको विरोधमा यो अभियान थालेपछि सामाजिक सञ्जालमा पक्ष र विपक्षमा चर्को बहस भइरहेको छ । यो बहसमा मेयर हर्क साम्पाङ आफै उत्रिएर सामाजिक सञ्जालमा विकासको लागि पार्किङ शुल्क (१० रुपैया) उठाएको जिकिर गर्दै भ्रष्टचार गर्न नदिनेतर्फ जनताले ध्यान दिनुपर्ने भन्दै प्रतिरोध गरिरहेका छन् । रास्वपासहित अन्य दलका नेता, कार्यकर्ताहरु भने कार्यपालिकाबाट निर्णय नभएको र राष्ट्रिय राजमार्गमा पार्किङ शुल्क उठाउनु कानुन विपरीत भएको भन्दै विरोधमा छन् ।

यद्यपी, मोटरसाइकल र स्कुटर पार्किङ शुल्कबारे रास्वपा सडकमा अभियान लिएर उत्रदा पनि ठुला भनिएका राजनीतिक दल एमाले, कांग्रेस, माओवादीले भने आवाज उठाउन सकेको छैन । कार्यपालिका बैठकमा पनि पार्किङ शुल्कको बिषयमा ठोस निर्णय हुन सकेको छैन । 

यसैबीच, आज माछा भौडीमा हस्ताक्षर संकलन भइरहदा मेयर हर्क साम्पाङको आदेशमा नगर प्रहरी आएर रोक लगाएको रास्वपाले जनाएको छ । उक्त पार्टीका नगर सचिव सुमन श्रेष्ठले विज्ञप्ती जारी गर्दै उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।  ‘स्मरण रहोस्, शान्तिपुर्ण ढंगले विरोध तथा आफ्नो कुरा राख्न पाउने अधिकार माथि हस्तक्षेप गर्न कोही कसैमाथि अधिकार नभएकोले यस घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउदै अवरोध नगर्न नगराउन अनुरोध गर्दछुँ,’विज्ञप्तीमा भनिएको छ ।

 रास्वपाले मुख्य राजमार्ग र सहायक राजमार्गमा कुनै पनि कर उठाउनु संविधान विपरीत भएकोले विरोधमा हस्ताक्षर संकलन गरिएको जनाएको छ । यस्तै, पार्किङ शुल्क उठाए पनि सवारी सुरक्षामा उदासिन रहेको, पार्किङको उचित व्यवस्थापन नभएको र आर्थिक मन्दिका मारमा परेका व्यवसायी तथा ग्राहकहरुलाई हतोत्साही गरेकोले पनि विरोधमा उत्रनुपरेको जनाएको छ । 

parking1