धरान: धरानको मुख्य बजार क्षेत्रमा मोटरसाइकल र स्कुटर पार्किङ शुल्क उठाउने निर्णय आफु एक्लै वा उपमेयरको मात्र नभएर कार्यपालिकाको निर्णय भएको मेयर हर्क साम्पाङले बताएका छन् ।

स्वतन्त्र नागरिक समाजले बनाएको एसएनएस पार्कको उद्घाटन समारोहलाई सम्बोधन गर्दे मेयर साम्पाङले कार्यपालिकाको निर्णयलाई नगरसभाले पारित गरेर कार्यान्वयन गरिएकोले अनावश्यक विरोधका गीत नगाउन पनि राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । ‘म र उपमेयर एक्लैले गरेको निर्णय होइन, कार्यापालिकाले निर्णय गरेर नगरसभाले अनुमोदन गरिसकेको छ,’उनले भने,‘त्यसैले तथाकथित पार्टीहरुले गीत नगाउनुस्, हामी दुई जनाले मात्र गरेको निर्णय होइन । सबै मिलेर बजेट बनाएको हो ।’

पछिल्लो समय धरानको बजार क्षेत्रका विभिन्न सडकहरुमा मोटरसाइकल र स्कुटरलाई पनि १० रुपैया पार्किङ शुल्क लिने गरि ठेक्का सम्झौता भएको सार्वजनिक भएको थियो । यसपछि सामाजिक सञ्जालमा राजनीतिक दलका नेता, कार्यकर्ताहरुबाट तीब्र विरोध र आलोचना भइरहेको छ । नेकपा एमालेले विज्ञप्ती जारी गर्दै कर लिने निर्णय कार्यान्वयन नगर्न र जनमैत्री कर लिन आग्रह पनि गरेको छ।

मेयर साम्पाङले अन्य सहरहरुले मोटरसाइकल पार्किङ शुल्क लिइरहेकोले धरानको विकासको लागि यहाँ पनि उठाउने निर्णय भएको बताए । ‘विकास हुन्छ भने त्यस्तो ठुलो गुनसो गर्नुपर्ने कुरा छैन । कि सधै मागेर उपमहानगरपालिका मैले चलाउनु ?’उनले भने,‘जनताले सकेको सहयोग गर्नुपर्छ । बरु त्यसरी उठाएको पैसा दुरुपयोग भयो भने भन्नुस्, तर भ्रष्टचार हुदैन, म प्रतिवद्धता जनाउछुँ ।’

उनले कोशीको पानी ल्याउन पहल भइरहेको र एयरपोर्ट पनि बन्ने सम्भावना रहेको बताए । साथै, स्तरी बाटो बनाउनुपर्ने र स्कुल भवनहरु पनि बनाउनुपर्ने भएकोले बजेट आवश्यक भएको बताए । ‘मैले बालुवा, गिट्टी बेचिन । खोल भत्काउन दिइन । अब कसरी जनताको आवशयकता पुरा गर्ने भनेर सोच्दा मोटरसाइकलमा ५, १० रुपैया शुल्क उठाउदा के हुन्छ भनेर कार्यपालिकाले निर्णय गरेको हो,’उनले भने ।

भिडियो: