धरान: आज (आइतबार) बिहानको कार्यपालिका बैठक मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाबीचको झगडाले अघि बढ्न नसकेपछि स्थगित भएको थियो । उपमेयर बेघाको विरोध र असन्तुष्टीको कारण मेयर साम्पाङले बैठक अघि बढाउन नसकेपछि दिउँसो २ बजे बस्ने गरि स्थगित गरेका थिए ।

बैठक दिउँसो २ बजे भनिए पनि झण्डै एक घण्टा ढिला गरि बैठक अघि बढेको थियो । तर, पुनः बैठकमा मेयर साम्पाङले एजेण्डा प्रस्तुत गर्न लाग्दा उपमेयर बेघाले अवरोध जनाउदै आफुले असहयोग गरेको पुष्टि गर्न माग गरे । उनले बिहानकै कुरा दोहोर्याउदै विगत १८ महिनामा के के बिषयमा असहयोग गरे भनेर मेयर साम्पाङले पुष्टि गर्नुपर्ने बताए । मेयर साम्पाङले भने अहिले जवाफ दिन्न भन्दै एजेण्डा प्रस्तुत गर्न लाग्दा पनि उपमेयर बेघाले ‘मैले के मा असहयोग गरे पुष्टि गर्नुस्’ भन्दै कराईरहे ।

बैठक पुनः अवरुद्ध हुने स्थिति बनेपछि वडाअध्यक्षहरुले पनि आफ्नो मत प्रकट गरेका थिए । वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)ले मेयर र उपमेयर दुवै कोठामा बसेर कुरा गर्नुपर्ने बिषयलाई बैठकमा ल्याएर अवरोध नगर्न भन्दै कड्कीए । उनले मेयर साम्पाङलाई बैठक अघि बढाउन आग्रह गरेका थिए । त्यसपछि भने मेयर साम्पाङ बिहानको बैठकमा जस्तो रोकिएनन् । 

उपमेयर बेघाले पुष्टि गर्नुस् भन्दै कराईरहे पनि मेयर साम्पाङले पेलेरै अघि बढे । उपमेयर बेघा कराइरहदा पनि मेयर साम्पाङले एजेण्डाहरु वाचन गरेर बैठक सञ्चालन गरेका थिए । उपमेयर बेघालाई वडाअध्यक्षहरुले पनि साथ दिएनन्, र उनी एक्लिएका थिए । हो हल्लाले गर्दा धरानको कार्यपालिका बैठक माछा बजार जस्तै देखिएको थियो ।

भिडियो:

भिडियो: