धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको वर्तमान अवस्थाप्रति १८ नम्बर वडा कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

धरान वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)ले शनिबार प्रेश विज्ञप्ती जारी गर्दै प्रतिष्ठानका पदाधिकारीहरुहरुबीचको आन्तरिक खिचातानी एवं शिक्षक र कर्मचारीहरुको आपसी स्वार्थ र गुटबन्दीको कारण निरन्तर अव्यवस्था हुन गएर बन्द हुने अवस्थामा पुगेको जनाएका छन् । प्रतिष्ठान धरानको वडा नं १८ मा अवस्थित छ । 

गत पुष २९ गतेदेखि हडताल, भद्र अवज्ञा जस्ता कार्यले अस्पताल सेवा अवरुद्ध भएर हजारौं नागरिकले स्वास्थ्य उपचार सेवा पाउने मौलिक हक गुमाउनुका साथै सयौं विद्यार्थीहरुको पढ्न पाउने अधिकार गुमेकोप्रति पनि वडा कार्यालयको ध्यानाकर्षण भएको छ । प्रतिष्ठान भित्रको आन्तरिक खिचातानीले सम्पुर्ण संस्था नै तहसनहस भएको आम वडाबासी, नगरबासी एवं स्वास्थ्य र शिक्षामा प्रतिष्ठानसँग आश्रित रहेका लाखौं जनसमुदायले टुलुटुलु हेरेर बस्ने अवस्था नरहने पनि विज्ञप्तीमा उल्लेख छ । आँगनमा रहेको अस्पतालमा उपचारबाट बञ्चित हुने अवस्थाप्रति मुकदर्शक भएर बस्नु आम नागरिकप्रति गैरजिम्मेवार भएको ठहरिने भन्दै वडा कार्यालयले समस्याको उचित समाधान निकाल्न पनि पदाधिकारी, शिक्षक, चिकित्सक र कर्मचारीहरुलाई आह्वान गरेको छ । 

वडाअध्यक्ष राईले स्वास्थ्य उपचारको जनताको मौलिक हक खोसिदा निम्तिन सक्ने अवस्थाको जिम्मेवारी समेत सम्बन्धित पक्षले लिनुपर्ने तर्फ सजग रहन र प्रतिष्ठानको सेवा सुचारु गर्ने कार्यमा सहजीकरण गर्न नेपाल सरकार, स्थानीय सरकार, राजनैतिक दल र सरोकारवालाहरुसँग अनुरोध पनि गरेका छन् । साथै, प्रतिष्ठानको अस्पताल सेवा र पठनपाठन सुचारु नभएमा चरणवद्ध विरोध कार्यक्रम सञ्चालन गर्न नगरबासी बाध्य हुने पनि विज्ञप्तीमा उल्लेख छ । 

wada 18 press