धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शिक्षक, कर्मचारीहरुको आन्दोलन जारी रहेपनि ओपिडी सेवा आंशिकरुपमा सुचारु भएको छ । 

आन्दोलनरत शिक्षक चिकित्सकहरुबाहेक प्रोफेसर र जुनियर रेसिडेन्टहरुले ओपिडी सेवा आंशिकरुपमा भएपनि सञ्चालनमा ल्याएका हुन् । प्रोफेसर र जेआरहरु पदोन्नति माग गर्नेमा पर्दैनन् । त्यसबाहेकका एसिस्टेन्ट प्रोफेसर, एशोसिएट प्रोफेसर र एडिस्नल प्रोफेसरहरु मात्र बढुवाको माग गर्ने चिकित्सकहरु हुन् ।

यस्तै, नर्सिङ र कर्मचारीहरु पनि आन्दोलनमा छन् । बढुवा हुनु नपर्ने कर्मचारीहरुलाई पनि कर्मचारी कल्याण समाजले आन्दोलनमा सहभागी हुन बाध्यकारी नभएको बताउदै आएको छ । आन्दोलन जारी अवस्थामा भएपनि आइतबारदेखि नै ओपिडी खुल्न शुरु भएको सहायक अस्पताल निर्देशक डा.इन्द्र लिम्बुले जानकारी दिए । उनले भने,‘प्रोफेसर र जेआरहरु ओडिपीमा बसेका छन्, इर्मजेन्सी अप्रेशनहरु पनि भइरहेकै छ । रेगुलर मात्र भएको छैन ।’

यसैबीच, वीपी प्रतिष्ठान बचाउ अभियानकोतर्फबाट वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)ले विज्ञप्ती जारी गर्दै प्रतिष्ठानको सेवा सुचारु हुन थाल्नु स्वागतयोग्य भएको प्रतिक्रिया दिएका छन् । उनले जनस्तरबाट आइतबार भएको शान्तिपुर्ण र्यालीमा व्यापक जनसहभागिता र समर्थन जुटेको भन्दै यसले प्रतिष्ठानको विकृति र विसंगति अन्त्य गरेर तीब्र विकास र विस्तार होस् भन्ने जनचाहना प्रकट भएको पनि उल्लेख गरेका छन् । साथै उक्त कार्यक्रममा सहभागी नगरबासी र प्रतिष्ठानमा सेवा सुचारु गर्ने सेवाकर्मीहरुलाई धन्यवाद पनि दिएका छन् । प्रतिष्ठानलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने, उपचार सेवा अवरुद्ध गर्न नहुनेलगायत माग गर्दे हिजो (आइतबार) वृहत शान्तिपुर्ण र्याली भएको थियो ।

बढुवाको माग गर्दै आन्दोलनरत शिक्षक, कर्मचारीहरुले सेवा बहिष्कार गरेपछि गत पुष २९ गतेदेखि नै ओपिडी सेवा र विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको छ । उच्च अदालत विराटनगरले तत्काल बढुवा नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको र प्रतिष्ठानले पनि बढुवा प्रक्रिया तत्काललाई स्थगन गरेको जानकारी दिदै काममा फर्कन अपिल गरेपनि आन्दोलनरत पक्षले भद्र अवज्ञा आन्दोलन जारी राखेका छन् ।

ward 18 drn copy