धरान: गोर्खा सैनिकहरुको वीरताको कथा बोकेको नेपाली चलचित्र 'गोर्खा वारियर' आगामी फागुन ५ गते धरानमा भव्य रेड कार्पेट प्रिमियर गरिने भएको छ । 

सन् १९४९ मा मलायाको जंगल युद्ध लडेका गोर्खा सैनिकहरुको कथालाई गत भदौ २४ गते लण्डनको लिसेस्ट स्क्वायरमा ऐतिहासिक भव्य प्रिमियर गरिएको थियो । हलिउड चलचित्र प्रिमियर हुने लिसेस्ट स्क्वायरमा प्रिमियर हुने पहिलो नेपाली चलचित्रकोरुपमा पनि गोर्खा वारियारले इतिहास बनाइसकेको छ । नेपालमा फागुन ११ गतेदेखि प्रर्दशनमा आउने यो चलचित्रलाई त्यसअघि नै फागुन ५ गते धरानमा रेड कार्पेट प्रिमियर गर्ने तयारी छ । 

चलचित्रका निर्देशक मिलन चाम्स, नायक नितेश चाम्स, नायिका रेविका गुरुङ, रेयर राईसहितको टोली भव्य प्रिमियरको तयारीमा जुटेका छन् । लण्डनमा प्रिमियर गरेर इतिहास बनाएको फिल्मलाई धरानमा पनि रेड कार्पेट प्रिमियर गर्ने र उक्त प्रिमियरलाई उत्सवकैरुपमा मनाउने गरि तयारी भइरहेको निर्देशक चाम्सले बताए । ‘धरानमा पनि फागुन ५ गते भव्य रेड कार्पेट प्रिमियर गर्ने तयारीमा छौं, यो प्रिमियर उत्सवकैरुपमा मनाउने गरि भव्य हुनेछ,’ मंगलबार पत्रकार सम्मेलनमा निर्देशक चाम्सले भने ।

gurkha war

धरान लाहुरेहरुको सहरकोरुपमा परिचित छ । निर्देशक चाम्सले यो चलचित्रमा धरानबासीहरुकै कथा ६०, ७० प्रतिशत भएको पनि बताए । साथै उनले धरानबाट अर्को नायक नितेस चाम्सको उदय भएको र उनको कामको प्रशंसा भइरहेको पनि बताए । ‘यो फिल्ममा ६०, ७० प्रतिशत त धरानको कथा भन्दा पनि फरक नपर्ला । धरानबाट नै अर्को नायक उदय भएको छ, उहाँ व्यवसायिक पाइलट पनि हो, कामको प्रशंसा पनि भएको छ । यो फिल्म सबैले हेरिदिनुपर्छ,’चाम्सले भने ।

लिसेस्ट स्क्वायरमा प्रिमियर हुने बेला यो चलचित्रलाई बेलायती प्रधानमन्त्री ऋषि सुनाकले शुभकामना पनि दिएका थिए भने विदेशी मिडियाहरुले पनि प्राथमिकताका साथ चर्चा गरेको थियो । हाल यो फिल्मलाई कोरियन काम्पनीले कोरियन भाषामा ७ बर्षको लागि लिइसकेको पनि निर्देशक चाम्सले बताए । यस्तै, अमेरिकन कम्पनीसँग पनि डिल भइरहेको र पछि उक्त कम्पनीले विश्वव्यापी वितरण गर्ने पनि उनले जानकारी दिए । 

gurkha1

यो चलचित्र सन् १९४९ मा मलायाको जंगलमा भएको युद्ध घटनामा केन्द्रीत छ । उक्त युद्धमा कान्छा भिसि भनेर ख्याती कमाएका रामबहादुर बेघाको कथा पनि समेटिएको छ । निर्देशक चाम्सका अनुसार युद्ध लडेका विभिन्न गोर्खा सैनिकहरुको कथा र घटनाहरुलाई जोडेर चलचित्र तयार गरिएको हो । ‘त्यो युद्धको धेरै घटनाहरुलाई समेटेका छौं । व्यक्तिगत भोगाईहरुलाई समेटेका छौं । नेपालको गाउँको पनि कथा छ, र राम्रो कथाहरु मर्ज गरेर बनाइएको छ,’ चाम्सले भने ।

कलाकार नितेश चाम्सले निर्देशकसँग आफ्नो सन् २०१६ मा भेट भएको र कथा सुन्दा पात्र आफु हुनुपर्छ भन्ने लागेको बताए । तर, अडिसन दिएपछि ३ बर्षसम्म पनि आफु छनौट नभएको र सन् २०१९ मा मात्र कलाकारकोरुपमा छानिएको बताए । ‘अडिसन दिएको थिएँ, तर सन् २०१९ सम्म निश्चित भएन । त्यो बेला धेरै तालिमहरु लिए, अभिनय पनि सिके,’उनले भने,‘हाम्रो बुबा, बाजेको कथालाई प्रस्तुत गर्न पाउदा भाग्यमानी ठानेको छुँ ।’

अर्का कलाकार रेयर राईले हजुरबुबाहरुले लडेको विश्वयुद्धको कहानी सुन्दै आएको र यो चलचित्रले भिज्युलमा दस्तावेजिकरण गरेको बनाए । ‘त्यसैले पनि धरानले र नेपालले यो फिल्मलाई माया गर्नुपर्छ,’उनले भने । 

भिडियो: