धरान: यही शनिबार सर्ट मुभी ‘निको नहुने रोग’ प्रदर्शनमा आउने भएको छ ।

फिल्म निर्माणको टिमले मंगलबार पत्रकार सम्मेलन गर्दै शनिबार धरान ८ स्थित फ्रेण्डस् सिनेमामा बिहान १०:३० मा प्रदर्शन हुने जानकारी दिएको हो ।

सर्ट मुभीको निर्देशक देउकृष्ण याक्खा छन् भने भुवन याक्खाले निर्माण गरेका हुन् । भुवन मुभीको नायक पनि हुन् । कुल १६ मिनेटको मुभी ३ लाख ६० हजार लागतमा तयार भएको पनि उनले जानकारी दिए ।

फिल्म प्रदर्शनबाट संकलित रकम मध्येबाट गायक नवराम राईको उपचारको लागी नगद ३० हजार सहयोग गर्ने पनि नायक याक्खाले बताए । गायक राई हाल मिर्गौलाको उपचार गराईरहेका छन् ।

फिल्मको नायिका निर्मला खजुम लिम्बु छिन् भने बालकलाकारहरू सोनीका याक्खा र योनिसा राईको पनि अभिनय रहेको छ । आमाबुबाको द्वन्दले छोराछोरीलाई कति असर गरेको हुन्छ भन्ने सन्देश फिल्मले देखाउने पनि नायक तथा निर्माता याक्खाले बताए । फिल्मको छायाङ्कन धनकुटाको राजारानी, वोधेमा भएको थियो । फिल्ममा आधुनिक देवानको रचना र स्वरमा निको नहुने रोग वोलको एउटा गीत छ ।