धरान: २४ ओं अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकप शनिबारदेखि शुरु भएको छ । 

धरान १६ स्थित रंगशालामा सम्पन्न उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले युनाइटेड खर्साङ फुटबल क्लब (युकेएफसी) भारतलाई सडन डेथमा १०-९ गोलअन्तरले हराउदै सेमीफाइनलमा स्थान बनाएको छ ।  निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि समय अभावको कारण सिधै खेल टाइब्रेकरमा लगिएको थियो । टाइब्रेकरमा पहिलो ५/५ जना खेलाडीले प्रहार गर्दा पनि बराबरी ४/४ गोल भएपछि खेलको निर्णय सडन डेथबाट भएको हो । 

टाइब्रेकरमा युकेएफसिका प्रशान्त राईको पहिलो प्रहार धरानका गोलकिपर सचिन श्रेष्ठले रोके । चौथो नम्बरमा पेनाल्टी प्रहार गर्न आएका धरानका रोमन लिम्बु पनि गोल गर्न असफल भएपछि खेल सडन डेथमा पुगेको थियो । उनको फितलो प्रहार पनि युकेएफसीका गोलकिपर रुपक कोयाले रोके । टाइब्रेकरमा धरानका खेलाडीहरु दोर्जे तामाङ, विजय राई, अनिल राई र मिलन लिम्बु गोल गर्न सफल भएका थिए । युकेएफसिका युकेएफसीका सत्यम क्षेत्री, वाङचेन तामाङ, सिद्धान्त क्षेत्री र दिवाकर चौधरी गोल गर्न सफल भएका थिए ।

भिडियो:

सडन डेथ प्रहारमा धरानका इन्सन राई, सुगम जिमी, प्रविण भुजेल, सचिन श्रेष्ठ, रिवाज मास्केले गोल गरेका थिए भने मिलन राईको प्रहार निर्णायक बनेको थियो । युकेएफसिका नयम प्रधान, राहुल वर्मन, सचिन थापा, विरेन प्रधान र रुपक कोयाले गोल गरेका थिए । सडन डेथको निर्णायक प्रहारमा एन्टोनी क्षेत्री गोल गर्न असफल भए । उनको प्रहार धरानका गोलकिपर सचिन क्षेत्रीले रोकेपछि पाहुना टोली पहिलो खेलबाट नै घर फर्कियो ।

निर्धारित समयको खेलमा दोस्रो हाफको ५८ औं मिनेटमा मिलन राईले गोल गर्दै धरानको लागि खाता खोलेका थिए । विनोद राईको पासमा उनले गोल गरेका थिए । युकेएफसीका नयम प्रधानले ७२ औं मिनेटमा गोल गरेपछि खेल बराबरी भएको थियो । दोस्रो हाफको ७५ आंैं मिनेटमा युकेएफसिका खेलाडीले डिबक्सभित्र बल हातले छोएपछि धरानले पेनाल्टीको मौका पाएको थियो । तर, मिलन राई गोल गर्नबाट चुके । उनको प्रहार युकेएफसिका गोलकिपर रुपक कोयाले रोकेका थिए । 

उद्घाटन खेलको म्यान अफ दि म्याच घोषित हुँदै धरानका गोलकिपर सचिन श्रेष्ठले नगद १० हजार, ट्रफी र टिसर्ट पुरस्कार पाए । प्रतियोगितामा भोली (आइतबार) एनआरटि काठमाण्डौं र त्रिभुवन आर्मी क्लब काठमाण्डौंबीच खेल हुने आयोजक धरान फुटबल क्लबले जनाएको छ । 

फोटोहरु: विकास चाम्लिङ राई 

busu18

busu5

busu6

busu7

busu8

busu9

busu20

busu19

busu17

busu