धरान: शनिबारदेखि धरान १६ स्थित रंगशालामा २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता शुरु हुदैछ । 

अहिलेसम्म उपाधिविहिन बनेको आयोजक धरान फुटबल क्लबले यसपाली भने उपाधि जित्ने लक्ष्य राखेर टिम तयारी गरेको छ । शनिबार (फागुन २६ गते) उद्घाटन हुने प्रतियोगिताको फाइनल चैत ३ गते हुनेछ । उद्घाटन खेलमा आयोजक र युकेएफसि भारतबीच खेल हुनेछ । उद्घाटन समारोह धरानका मेयर हर्क साम्पाङ प्रमुख अतिथि रहनेछन् । 

क्लबले बिहिबार पत्रकार सम्मेलन गर्दे प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको जानकारी दिएको छ । आयोजक क्लबका अध्यक्ष प्रताप तामाङले यसपटक प्रतियोगितालाई विगतमा भन्दा व्यवस्थित गरिएको र मेन गेटभित्र आयोजक, पत्रकार कसैको पनि सवारीसाधनलाई प्रवेश गर्न नदिइने बताए । आयोजक र पत्रकारको लागि गेटबाहिर अलग्गै पार्किङको व्यवस्था गरिएको र त्यहाँ शुल्क नलाग्ने पनि उनले बताए । क्लबलाई पारदर्शी बनाउने प्रतिवद्धता दोहोर्याउदै अध्यक्ष तामाङले पहिलो नगद पुस्कार धरान हङकङ मञ्चलाई अनुरोध गरिएको बताए । दोस्रो पुरस्कार ५ लाख धरान समाज युकेले दिइसकेको उनले बताए । 

24th budha subba

पत्रकार सम्मेलनमा एनि स्पोट्र्स कन्काई गार्मेन्टका अध्यक्ष सन्तोष थोप्राले आयोजक क्लबका खेलाडीहरुको लागि जर्सी र ट्रयाकसुट हस्तान्तरण पनि गरेका थिए । उनले आयोजक क्लबका कोच हेम गुरुङ र मेनेजर अर्जुन राईलाई ट्रयाक, जर्सी हस्तान्तरण गरेका थिए ।कोच गुरुङका अनुसार यसपाली उपाधि जित्ने लक्ष्यका साथ टिम तयार गरेर अभ्यास भइरहेको छ । गोधुली रनिङ कप सकिएपछि खेलाडीहरु छनौट गरिएको र ए डिभिजन लिग खेलेको अनुभवी केही खेलाडीहरु पनि समावेश भएको उनले बताए । २४ औं सँस्करणसम्म आइपुग्दा आयोजक धरानले अहिलेसम्म उपाधि जित्न सकेको छैन । 

प्रतियोगितामा आयोजक र युकेएफसीबाहेक लिग च्याम्पियन चर्च ब्वाईज क्लब, एनआरटि काठमाण्डौं, त्रिभुवन आर्मी क्लब, काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, जिल्ला फुटबल संघ मोरङ र नेपाल पुलिस क्लब सहभागी हुने हुने महासचिव नविन राईले जानकारी दिए ।

24th budha subba2

प्रतियोगिताको विजेताले च्याम्पियन ट्रफीसहित नगद १० लाश र उपविजेताले नगद ५ लाख पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख हात पार्नेछ भने उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही नगद २५ हजार पाउनेछन् । यस्तै, सर्वाधिक गोलकर्ताले ३५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार नगद पुरस्कार पाउनेछन् । 

पत्रकार सम्मेलनमा मन्तव्य व्यक्त गर्दै धरान समाज युकेका संस्थापक अध्यक्ष राजु लिम्बुले दोस्रो पुरस्कार ५ लाख र धरान युके हेल्पिङ ह्याण्डले थप ४ लाख रुपैया आयोजकलाई सहयोग गर्ने बताए । बुढासुब्बा गोल्डकप सबैको भएकोले सबैबाट साथ, सहयोगको खाँचो रहेको पनि उनले बताए । एनि स्र्पोट्सका सन्तोष थोप्राले बुढासुब्बा गोल्डकप पुर्वकै सान भएकोले सहकार्य गर्न पाउदा खुशी लागेको बताए । उनले आगामी सँस्करणहरुमा पनि सहयोग निरन्तर गर्ने बताए । 

भिडियो: