धरान: धरानकै खजुरे नाम गरेका व्यक्तिको जीवनमा आधारित फिल्म खजुरे ब्रो बैशाख २८ अर्थात शुक्रबार फिल्म हलमा रिलिज हुदैछ । यो फिल्म रिलिज हुनुभन्दा अघि नै भोली (बुधबार) धरानमा च्यारिटी शो हुने भएको छ ।

फिल्ममा अभिनय गरेका धरानका कलाकारहरुले पत्रकार सम्मेलन गर्दै बुधबार च्यारिटी प्रिमियर शो हुने जानकारी दिएका हुन् । कलाकार दिपचन्द्र राई (कान्छी)ले धरानका खजुरे दाईको जीवनीमा फिल्म बनेकोले सबैले हेरिदिनुपर्ने पनि बताए । उनका अनुसार यो फिल्म अधिकांश धरानमा छायांकन गरिएको छ भने दार्जिलिंग, काठमाण्डौंमा पनि छाँयाकन भएको छ । ‘फिल्म धेरै राम्रो बनेको छ । धरानकै पात्र हो खजुरे दाई, वास्तविक पात्र र घटनाहरु छन्,’उनले भने,‘खजुरे दाईलाई सबैको चिन्ने हो । उहाँले भोगेको कथा, समाजलाई देखाएको इर्नजी र प्रेम पनि फिल्ममा छ ।’

फिल्म निर्माण टिमका सहयोगी हेमचन्द्र राईले फ्रेण्ड्स सिनेमाले च्यारिटी शोको लागि शुल्क नलिने भएको बताए । साथै, धरान २० चिण्डे डाँडामा निर्माण हुने सुम्निमा पारुहाङ प्रतिमा सहयोगार्थ च्यारिटी शो हुन लागेको पनि उनले बताए । ‘धरानको पात्र, जसले आफ्नो दुःख, पीडा लुकाएर सबै सामु हासिरहे, अरुलाई हसाईरहे,’उनले भने,‘धरानको अर्गानिक कथाबस्तु हो । हाँस्य भएपनि गम्भीर सन्देश छ । सम्पत्ति नहुदा पनि मान्छे खुशी हुने र अरुलाई खुशी बनाउन कसरी सम्भव छ? यो फिल्मले देखाउनेछ ।’

फिल्मको निर्देशक सुरज सुनुवारले गरेका छन् । फिल्ममा निती साहले डेब्यु गरेकी छिन् भने रेयर राई, महेश त्रिपाठी, प्रेम सुब्बा, सुजता राई, दिपचन्द्र राई, रमेश राई, पवन लिम्बुलगायतको अभिनय रहेको छ । खजुरे ब्रो धरानकै खजुरे नाम गरेका व्यक्तिको जीवनमा आधारित फिल्म हो । उनको जीवनशैली र गतिविधिहरुले चर्चित थिए । उनको रेविजबाट निधन भएको थियो । 

भिडियो: