धरान:  धरान १४ स्थित नरसिंह भगवानको मन्दिर भुमाफियाहरुको चलखेल र मिलेमतोमा नक्कली जग्गाधनी खडा गरेर हड्प्न खोजेको सार्वजनिक भएपछि धरान उपमहानगरपालिकाले गम्भीरतापुर्वक चासो देखाएको छ ।

समाचार प्रकाशित भएलगत्तै मेयर हर्क साम्पाङले मालपोत कार्यालय धरानलाई पत्र पठाउदै यथार्थ यकिन नभएसम्म जग्गा सम्बन्धी प्रक्रिया रोक्का राख्न भनेका थिए भने वडा नं ६ को कार्यालयलाई पनि सिफारिश गरेको बिषयमा यथार्थ विवरण पेश गर्न भन्दै पत्राचार गरेका थिए । 

मेयर साम्पाङले यो प्रकरणमा जोडिएको तीनै पक्षलाई मंगलबार पुनः उपमहानगरपालिकामा बोलाएर छलफल गरेका थिए । मेयर साम्पाङले बोलाएपछि मालपोत कार्यालय, ६ नम्बर वडा कार्यालय र मन्दिर संरक्षण समिति छलफलमा पुगेको थियो । मेयर साम्पाङले जग्गा प्रकरणमा तीनै पक्षको कुरा सुनेपछि आफ्नो निष्कर्ष सुनाएका थिए, ‘यो जग्गा मन्दिरकै हो ।’

तीन जनाको निवेदन आएको छ, छानबिनको क्रममा छौं: मालपोत प्रमुख 

nursing mandir2

मालपोत कार्यालय धरानका प्रमुख राजेश पोखरेलले दर्ता छुट भएको जग्गामा ३ जनाको दाबीसहित निवेदन परेको र त्यसबारे हाल छानबिनकै क्रममा रहेको बताए । कानुन वमोजिम निवेदन परेपछि छानबिन गरेर निष्कर्षमा पुग्न समय लाग्ने उनले बताए । 

प्रमुख पोखरेलका अनुसार नापी भएर फिल्डबुकमा नाम भएको तर जग्गा दर्ता छुट भएको हकमा २ बर्षभित्र निवेदन दिनसक्ने भनेर सरकारले २०८० माघ ११ गते राजपत्रमा सुचना प्रकाशित गरेको थियो । ‘त्यसैको आधारमा निवेदन दिने क्रम बढ्यो । तर मिलेमतोमा दर्ता गर्न लागेको भनेर समाचार आयो । यो सरासर गलत हो,’ उनले भने,‘पहिलो निवेदन परेपछि त्यो कित्तामा अन्य हकदार छ कि छैन, निज निवेदकको हकभोग भए नभए नभएको, दर्ता गरि धनीपुर्जा जारी गर्न मिल्ने कि नमिल्ने भनेर चैत २७ गते पत्रिकामा सार्वजनिक सुचना प्रकाशित गरेका छौं भने कसरी मिलेमतो हुनसक्छ ?’

उनका अनुसार शुरुमा २०८० चैत १६ गते धरान ४ भई हाल वडा ६ बस्ने लालबहादुर थापा मगरले बाँझगरा वडा नं ३ क कि नम्बर १२५ को ७ कट्टा ११ धुर जग्गा २००७ सालमा नापी भै दर्ता गर्न छुट भएकोले छुट दर्ता गरि जग्गाधनीपुर्जा पाउ भनेर निवेदन दिएका थिए । उनको निवेदनसँगै वडा कार्यालयकाृ सिफारिश, फिल्डबुक, ७ नम्बर फाँटवारी र २ नम्बर रसिद पनि थियो । उक्त निवेदनबारे मालपोत कार्यालयले अध्ययन गरेर त्यो कित्तामा अन्य हकदार भए नभएको तथा निज निवेदकको हकभोग भए नभएको, दर्ता गरी जग्गा धनीपुर्जा जारी गरिदिन मिल्ने नमिल्ने भनेर चैत २७ गते पत्रिकामा सुचना प्रकाशित गरेको पोखरेलले बताए ।

उक्त सुचना प्रकाशित भएपछि बैशाख २१ गते नरसिंह भगवान मन्दिर संरक्षण समितिको तर्फबाट पनि अध्यक्ष टोमप्रसाद आचार्यले मन्दिरको जग्गा भनेर निवेदन दिएका थिए । पुनः बेशाख २५ गते धरान ८ बस्ने लालबहादुर मगरको छोरा सुन्दर मगरकी श्रीमति लक्ष्मी मगरले पनि दाबी गर्दै निवेदन दिएको मालपोत प्रमुख पोखरेलले बताए । ‘यी ३ वटा निवेदन पेश भएपछि जग्गा कस्को हो त ? भनेर छानबिनको क्रममा नै छ । अहिले तीन जनाको दाबी परेको छ, यसको हो भन्ने निक्यौल भइसकेको छैन । प्रमाणहरुको आधारमा निर्णय हुन्छ,’ उनले भने,‘अन्य प्रक्रियाहरु मालपोत ऐन, कानुन अनुसार अघि बढ्छौं ।’

कानुन बाहिर गएर गलत सर्जमिन गरेका छैनौं: वडाअध्यक्ष

nursing mandir3

वडा नं ६ का अध्यक्ष भुपेन्द्र भट्टराईले आफुले कानुन वमोजिम नै सर्जमिन र सिफारिश गरेको दाबी गरे । उनले दर्ता छुट भएको जग्गालाई पुनः दर्ता गर्नेबारे २०८० माघ ११ गते नेपाल सरकारले नै २ बर्षको म्याद तोकेर सुचना प्रकाशित गरेको पनि बताए । 

जग्गा धनी भनेर आएका लालबहादुर मगरलाई सर्जमिन गरेर सिफारिश गरिदिनुअघि मन्दिर संरक्षण समिति अध्यक्ष टोमप्रसाद आचार्यसँग पनि छलफल गरेको अध्यक्ष भट्टराईको भनाई छ । ‘हामीले मालपोतसँगै बसेर छलफल गरेको हो, मन्दिरको डकुमेन्ट लिएर आउनुस्, कानुन वमोजिम छ भने सिफारिश गछौं भनेको हो,’ उनले भने,‘लालबहादुर मगरको तीनपुस्ते कागज छ । पुर्वजनप्रतिनिधि बसेर सर्जमिन गरेको हो, कानुनबाहिर गएर गलत सर्जमिन गरेको छैन ।’ उनले कसैको प्रलोभनमा परेर काम नगरेको पनि जिकिर गरे ।

७५ बर्ष भयो हकभोग गरेको, त्यो मन्दिरकै जग्गा हो: आचार्य

nursing mandir1

नरसिंह भगवान मन्दिर संरक्षण समितिका कोषाध्यक्ष नेत्रप्रसाद आचार्यले विगत ७५ बर्षदेखि उक्त जग्गा मन्दिरले नै भोगचलन गरिरहेकोले मन्दिरकै हुनुपर्ने बताए । उनले २ नम्बर रसिद पनि प्रमाणकोरुपमा रहेको बताए । ‘७५ बर्षदेखि अहिलेसम्म मन्दिरले नै भोगचलन गरेको छ । मन्दिरले नै त्यहाँको वाली लिइरहेको छ,’ उनले भने,‘त्यो जग्गा मास्तिर प्लटिङ गर्नेले बाटो मागे । हामीले दियौं, बाटोको नाम पनि नरसिंह पथ राखेको छ । बाटो खोल्न दिएवापत मन्दिरलाई ६ लाख पनि दिएको छ ।’

बाटोको लागि १० धुर जति जग्गा गएको र त्यसवापत ६ लाख रुपैया मन्दिरकै नाममा पैसा दिएको पनि कोषाध्यक्ष आचार्यले बताए । ‘मन्दिरलाई दिएको रसिद पनि छदैछ । बाटो भनेर मात्र हामीले पनि जग्गा दिएको हो । मन्दिरलाई के गर्नुहुन्छ भन्दा ६ लाख दिन्छौं भन्यो,’उनले भने ।

यो जग्गा मन्दिरको नाममा कोषाध्यक्ष आचार्यकै पुर्खाहरुले दिएका हुन् । जग्गा नापी आउदा आफ्ना बाउबाजे उपस्थित हुन नपाउदा जग्गा कमाउनेले नै फिल्डबुकमा लालबहादुर भनेर लेखाएको पनि उनले बताए । ‘पहिला १२४ र १२५ कित्ता एउटै थियो, लालबहादुर भन्नेले ७ कट्ठा लियो, र आधा जग्गा छोड्यो,’ आचार्यले भने,‘१२५ कित्ता नम्बरमा फिल्डबुकमा पनि खाली छ, माथि १२४ मा पर्ने गरि मात्र लालबहादुर लेखेको छ । त्यो जग्गा मन्दिरकै हो, मन्दिरले नै पाउनुपर्छ ।’

अहिले दलालले भनेपछि मेरो नाममा नापी भएको थाह भो: लालबहादुर मगर

lal bdr

नरसिंह मन्दिरको जग्गा आफ्नो भनेर हकदाबी गर्दै निवेदन दिने धरान वडा नं ४ बस्ने लालबहादुर थापा मगरले आफैलाई पनि उक्त जग्गा आफ्नो नाममा नापी भएकोबारे लामो समय अनभिज्ञ रहेको खुलेको छ । 

अहिले जग्गा दलालहरुमार्फत मात्र आफ्नो नाममा उक्त जग्गा नापी भएको भन्ने थाह पाएको लालबहादुरले बताएका छन् । धरान ४ स्थित घरमा पुगेका पत्रकारहरुसँग कुरा गर्दै लालबहादुरले भने,‘२०२७ सालको नापीमा मेरो नाममा जग्गा नापी भएछ । त्यो कुरा इटहरीको दलाल आएपछि मात्र थाह भयो ।’

लालबहादुरका अनुसार इटहरीका जग्गा दलालहरु निरन्तर धाएर जग्गाको पुर्जा आउछ भनेर ललाईफकाई गरेका थिए । दलालहरुले नै शुरुमा वडा नं ४ मा सर्जमिन गरेको र त्यसले काम नदिने भएपछि वडा ६ मा गएर नै पुनः अर्को सर्जमिन पनि गराएको लालबहादुरले खुलासा पनि गरे । ‘तेरो नाममा पुर्जा आउछ भन्थ्यो । शुरुमा घरमै सर्जमिन गर्यो, त्यो काम लाग्दैन भनेर ६ नम्बर वडामा लगेर अर्को सर्जमिन भयो । बाइकै लिन आउथ्यो,’ उनले भने,‘मेरो नाममा जग्गा आउछ भनेर सोचेको पनि छैन । आए पनि ठिकै छ, नआए पनि ठिकै छ ।’

लालबहादुरका अनुसार उक्त जग्गा शुरुमा उनका दाजुले कमाउने गरेका थिए । दाजुले कमाउन छोडेपछि उनले २०२० सालदेखि कमाउन थालेका थिए । आफुले २०३०/३५ सालसम्म उक्त जग्गा कमाएको लालबहादुरले खुलाए । 

भिडियो :

भिडियो :

भिडियो :