धरान: धरान वडा नं २० स्थित कोकाह खोलाबाट श्रमदानमार्फत दोस्रो पटक पानी ल्याउन मेयर हर्क साम्पाङले श्रमदान शुरु गरेपछि उत्पन्न विवाद सेलाउनको साटो झनै बढ्दै गएको छ ।

शनिबार मेयर साम्पाङले कोकाहमै वृहत श्रमदान गर्ने भएका छन् भने वडा २० स्थित प्राकृतिक श्रोत साधन संरक्षण समितिले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त कार्य तत्काल स्थगित गर्न मेयरलाई ध्यानाकर्षण पनि गराएको छ । समितिले उक्त विज्ञप्तीलाई आधार नमानेमा कुनै पनि घटना भए आफै स्वयम जिम्मेवारी लिनसमेत अनुरोध गरिएको छ । 

अध्यक्ष पदमबहादुर लिम्बु र सचिव जीवन राईले जारी गरेको विज्ञप्तीमा फेक आइडि बनाएर सामाजिक सञ्जाल र अनलाइन मिडियामा व्यक्तिको चरित्र हत्या गर्ने, सामाजिक सद्भाव भडकाउने, साम्प्रदायिक दंगा भड्काउने अनैतिक क्रियाकलाप भएकोले सरोकारवालासँग समन्वय र सम्झौता नभै आफुखुशी श्रमदान गरि पाइप जडान गरेकोमा समितिले घोर भत्र्सना पनि गरेको छ । विष्णुपादुकाबाट झण्डै ६० हजार पानी धरान बजार क्षेत्रमा आउदा कुनै वाधा अवरोध नगरेको उल्लेख गर्दै स्थानीयलाई पाखे, गाउँले आदि शब्दले निरिह बनाएको पनि विज्ञप्तीमा उल्लेख छ । 

kokaha wirod

स्वराबासीले लिफ्टिङ गरेर खाएको पानीको मुहानमा समेत पानी नभएको, मासिक ९ सयदेखि १५ सय तिर्न बाध्य भएको र पर्याप्त पानी उपभोग गर्न नपाएको समितिको विज्ञप्तीमा उल्लेख छ । यता, मेयर साम्पाङले पनि सामाजिक सञ्जाल फेसकुकमा स्थानीयको माग वमोजिम बिहिबारदेखि नै स्वराको लिफ्टिङको लागि सहयोग गर्ने काम शुरु गराइसकेको उल्लेख गरेका छन् । साथै उनले खानेपानीमा अवरोध गर्न कोही नआउनु होला भन्दै शनिबार बिहान कोकाह २ को श्रमदान हुने बताएका छन् । 

उपमहानगरमा समझदारी भएपनि स्थानीयमा किन छ आक्रोश ?

kokaha3

गत शनिबार वडा नं २० का जनप्रतिनिधि र स्वराका जनता कोकाह मुहानमै पुगेर मेयर साम्पाङलाई समन्वय र सहमति गरेर मात्र पानी लैजान आग्रह गरेका थिए । त्यसक्रममा मेयर साम्पाङ र श्रमदाताहरुसँग वडाका जनप्रतिनिधि र स्थानीयबीच चर्काचर्की नै परेको थियो । स्थानीयले स्वारालगायत क्षेत्रमा पनि पानीको अभाव भएकोले आफुहरुलाई पनि वितरणको व्यवस्था हुनुपर्ने माग राखेका थिए । माग बारे पहिला छलफल र सहमति भएपछि मात्र पाइप विस्तारको कार्य गर्न स्थानीयको जोड थियो । 

लामो विवाद र चर्काचर्कीपछि मेयर साम्पाङले आइतबार माग लिएर कार्यालयमा आउन आग्रह गरेपछि स्थानीयहरु फर्किएका थिए । उनीहरु आइतबारको साटो बुधबार मात्र मेयर साम्पाङलाई भेट्न पुगेका थिए । स्थानीयले माग सुनाउनु अघि मिडिया र सामाजिक सञ्जालमा आफुहरुको चरित्र हत्या हुने गरि भिडियो र फोटो पोष्ट गरेको भन्दै आक्रोश पोखेका थिए । साथै उक्त बैठकमा वडा २० का प्रतिनिधि र जनताले भिडियो नखिच्न पनि भनेका थिए । 

शनिबार मेयर र श्रमदाताहरुसँग भएको वादविवादको भिडियो र फोटो विभिन्न युट्युब च्यानलबाट डाउनलोड र स्क्रिनसट गरेर विभिन्न व्यक्तिहरुले मोडिफाइ गरि फेसबुक, टिकटिकतिर पोष्ट गरेका थिए । कतिपय पोष्ट चरित्रहत्या हुने खालको र आपत्तिजनक थियो । तिनै पोष्टको कारण वडा २० का जनप्रतिनिधि र स्थानीयबासी मिडियासँग पनि रुष्ट भएका थिए । यद्यपी ती पोष्ट मिडियाकर्मीहरुबाट भएको थिएन ।

बुधबार मेयर साम्पाङले स्वराका जनताको लागि लिफ्टिङ योजनाको अध्ययन गराउन तत्काल प्राविधिक पठाउने प्रतिवद्धता दिएपछि समझादरी भएको थियो । बिहिबार प्राविधिकहरु फिल्ड अध्ययनको लागि गएका पनि थिए ।  तर, बुधबार मेयर साम्पाङको कार्यकक्षमा भएको छलफलको तस्बिरलाई पुनः सामाजिक सञ्जालमा भाइरल गरिएको थियो । यसले पुनः वडा २० बासीको आक्रोश बढाएको हो । तिनै मध्ये एक विजय लामाले बिहिबार राती फेसबुक लाइभमा आक्रोश पोख्दै शनिबारको श्रमदान नगर्न चेतावनी दिएका थिए । जर्बजस्ती काम गरे जे पनि हुनसक्ने उनले बताएका थिए । 

wada 20