धरान: धरान वडा नं १० माछामारा डाँडामा निर्माणाधिन अवस्थामा रहेको ब्रिटिश गोर्खा स्मृति पार्कमा सहयोग जुट्न थालेको छ ।

अधिकांश भूपू ब्रिटिश आर्मी सपरिवार बेलायततिरै बसोबास गर्न थालेपछि पार्क निर्माण कार्य प्रभावित हुन पुगेको थियो । अझ नेतृत्वदायी भुमिका निर्वाह गरेका गजेन्द्र इस्वोको निधन हुनु र परिकल्पनाकार रमेश राईको स्वास्थ्य प्रतिकुल भएपछि पार्क निर्माण कार्य सुस्ताएको थियो । समितिले पार्क निर्माण र सञ्चालनको जिम्मा लिजमा निजी क्षेत्रलाई दिएपनि कोभिड १९ ले लगानी गर्ने वातावरण नभएको भन्दै सम्झौताबाट पछि हटेको थियो । उक्त घटनाले पनि ब्रिटिश गोर्खा मेमोरियल पार्क वेवारिसे झै बनेको थियो ।

सम्झौता रद्द गरेर निजी क्षेत्र पछि हटेपछि पछिल्लो एक बर्षयता समितिले नै पुनः जिम्मेवारी लिएर निर्माण कार्यलाई अघि बढाएको छ । पार्क निर्माण कार्यलाई पुरानै लयमा फर्काउन भूपू गोर्खा सैनिक तथा परिवारजनहरुले आर्थिक सहयोग पनि गर्न थालेका छन् । समितिका अध्यक्ष क्याप्टेन हरिबहादुर लिम्बु पनि बेलायतमा नै छन् । उनले बेलयातबाटै आर्थिक सहयोग जुटाउन भुमिका खेलिरहेका छन् । 

british memorial park6

पार्क समिति सदस्य एवं भूपू गोर्खा सैनिक गोपाल राई नयाँ कामहरु शुरु हुन थालेकोले विगतमा सहयोग गर्ने प्रतिवद्धता जनाएका व्यक्तिहरु पुनः सम्पर्कमा आउने आशा व्यक्त गर्छन् । सचेत धराने समुहको रक गार्डेनका डिजाइनर पनि रहेका उनी हाल ब्रिटिश गोर्खा मेमोरियल पार्क निर्माणमा पनि जोडिन पुगेका छन् । उनी आफै पनि भूपू ब्रिटिश आर्मी हुन् । ‘अब डिजाइन अनुसारकै संरचनाहरु बनाउन लागिपरेका छौं । विगतमा सहयोग गर्ने आश्वासन दिएका दाताहरु सम्पर्कमा आउनुहुन्छ भन्ने आशा छ,’ उनले भने ।

पार्क निर्माणमा शुरुवाती कालदेखि नै संलग्न सुवित्रा राईले पनि अब तीब्र गतिमा निर्माण गर्ने बताइन् । ‘बीचमा पार्क अरुलाई नै जिम्मा लगाएका थियौं, तर उनीहरुले गरेनन् । त्यसले समस्या पार्यो,’उनले भनिन्,‘हामीले कति दुःख गरेका छौं, अब फेरि पार्कलाई सुन्दर बनाउन सबै जुट्छौं ।’

british memorial park3

समितिका कोषाध्यक्ष उमेशचन्द्र लिम्बुका अनुसार बेलायतबाट अध्यक्ष चाडै फर्कने र अधिवेशन गरेर नयाँ चलायमान समिति गठन गर्ने बताए । उनले भने,‘उहाँ चाडै आउनहुन्छ, र अधिवेशन गरेर नयाँ समिति बनाएर पार्क निर्माण कार्यलाई अघि बढाउछौं ।’

धरानका भूपू ब्रिटिश गोर्खा सैनिकहरुले आफ्नै लगानीमा यो पार्क निर्माण शुरुवात गरेका थिए । पार्क बनाउन १२ बिगाह ४ कट्ठा जग्गा खरिद गरिएको थियो । भूपू गोर्खा सैनिकहरुको इतिहासलाई जिवित राख्ने उद्देश्यले डिपिआर बनाएर पार्क निर्माण शुरुवात गरिएको थियो ।

पार्कमा आयो गोर्खालीको प्रतिमा, विभिन्न गोर्खा रेजिमेन्टको इतिहास राखिएको स्तम्भ, १० जिआरको इतिहास र प्रतिक, ७ जिआरको इतिहासहरुको पनि स्तम्भ निर्माण भइसकेको छ । डिलक्स रुमसहितको चमेना गृह, विभिन्न पिकनिक स्पट पनि बनेको छ । भिसि विजेताहरुको प्रतिमा, इतिहास र भिसि हट, म्युजियम पनि बनाउने योजना रहेको पार्कलाई ब्रिटिश आर्मीहरुको तीर्थस्थल र पर्यटकीय गन्तव्य बनाउने लक्ष्य राखिएको थियो ।

डबल बेञ्च चौतारी शिलान्यास

british memorial park

पार्कमा आइतबार डबल बेञ्च चौतारीको शिलान्यास भएको छ । स्वर्गीय भूपू ब्रिटिश आर्मी बिर्खबहादुर लिम्बु र मनबहादुर कङलिवा लिम्बुको स्मृतिमा परिवारजनको आर्थिक सहयोगमा पश्चिमतर्फ चौतारी बन्ने भएको हो । दाता परिवारले आइतबार शिलान्यास गरेका थिए । 

यस्तै, पुर्वतर्फ नरप्रसाद लिम्बु र अमृता पालुङ्वाको सहयोगमा डबल बेन्च चौतारी बन्ने भएको थियो । आफु जिवित हुँदा नै एउटा चौतारी निर्माण गरिदिन लागेको दाता अमृताका भाई डा.योगेन्द्र पालुङ्वाले बताए । यस्तै, अर्को एउटा चौतारी स्वर्गीय बुबा चक्रबहादुर पालुङ्वाको स्मृतिमा निर्माण गरिदिने उनले बताए । उक्त डबल चौतारीको आइतबार डा.पालुङ्वाले नै शिलान्यास गरेका थिए । 

चमेना गृहमा गार्डेन बन्ने

british memorial park5

पार्क क्षेत्रमा भूपू महिलाहरुको नेतृत्वमा बनेको चमेना गृहमा गार्डेन बनाउन युकेबाट चार जना महिलाहरुले नै आर्थिह सहयोग गरेका छन् । उक्त सहयोग आइतबार चमेना गृह परिसरमा सुवित्रा राईले पार्क समितिका कोषाध्यक्ष उमेश चन्द्र लिम्बुलाई हस्तान्रतण गरिन् । उनी चमेना गृह निर्माण निर्माण समितिकी अध्यक्ष पनि थिइन् ।

हाल युकेमा बसोबास रहेको धरान ११ की माया राई, धरान १८ की सुभद्रा राई, मिना राई र गंगा राईले दश हजारको दरले ४० हजार सहयोग गरेका छन् । चमेना गृह बनाए पनि थप सुन्दरताको लागि गार्डेन बनाउन सहयोग आह्वान गर्दा चार जना दिदीबहिनीहरुले युकेबाट पठाइदिएको सुवित्रा राईले बताइन् । ‘महिला दिदीबहिनीहरु मिलेर चमेना गृह बनाएका थियौं । थप सुन्दर बनाउन गार्डेन बनाउने योजना हो,’ उनले भनिन् ।

संस्थापक सदस्य मेमोरियल गार्डेन 

यो पार्क निर्माणको परिकल्पना गर्ने व्यक्ति हुन् भूपू गोर्खा सैनिक रमेश राई । उनको परिकल्पनालाई साकार बनाउन स्वर्गीय गजेन्द्र इस्वोले नेतृत्वदायी भुमिका खेलेका थिए । पार्क स्थापना गर्न महत्वपुर्ण भुमिका खेल्ने दुवैको प्रतिमासहित संस्थापक सदस्य मेमोरियल गार्डेन निर्माण भइरहेको छ । 

समितिका कोषाध्यक्ष लिम्बुका अनुसार उक्त गार्डेन बनाउन युकेबाट १६ लाख ६४ हजार रुपैया प्राप्त भइसकेको छ । युकेमा रहेका पार्क समितिका अध्यक्ष हरिबहादुर लिम्बुको पहल र भुपु सैनिक, परिवारजनबाट उक्त रकम सहयोग आएको पनि कोषाध्यक्ष लिम्बुले बताए । 

भिडियो:

भिडियो: