धरान: धरान १४ का मृगौला पीडित ५३ बर्षीय प्रेमप्रसाद पराजुलीले परिवारबाट सम्भव नभए अन्य कसैले स्वेच्छिकरुपमा मृगौला दान गर्दा स्वीकार गर्न पाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

करिब डेढ बर्षदेखि दुवै मृगौला खराब भएर डाइलाइसिस गराइरहेका पराजुलीले नेपालको कानुनी जटिलताले गर्दा विचौलियाको प्रभावमा परी भारतमा मानव अंगको अवैध कालोधन्दा भइरहेकोले यसलाई रोक्न पनि कानुन संशोधन गर्नुपर्ने बताएका छन् । नेपालमा परिवारका सदस्यले मात्र मृगौला दान गर्नपाउने कानुनी व्यवस्था छ । परिवारको सदस्यबाट मृगौला दान गर्न सम्भव नभए विचौलियामार्फत लाखौं खर्च गरेर नेपालीहरुले भारतको अस्पतालहरुमा अवैधरुपमा मृगौला प्रत्यारोपण गरिरहेका छन् । 

आर्थिक अवस्था कमजोर भएका मृगौला पीडितहरु भने खर्च गर्न नसकेर मृत्युको प्रतिक्षा गर्नुपरिरहेकोले कानुन संशोधन गरेर परिवारको सदस्यबाहेकको पनि मृगौला दान स्वीकार गर्नसक्ने वातावरण सरकारले बनाइदिनुपर्ने पराजुलीको माग छ । यस्तो वातावरण बनेमा नेपालमै मृगौला प्रत्यारोपण सहज हुने र अवैधरुपमा भारतमा लाखौं खर्चेर प्रत्यारोपण गर्ने विचौलियाको धन्दा रोकिने पराजुलीले बताए । ‘हामीजस्ता व्यक्तिहरु शारीरिक, मानसिक र आर्थिकरुपले अत्यन्तै विक्षिप्त र लाचार छौं । सांगठनिकरुपमा कुनै प्रकारको सांकेतिक वा भौतिक दबाबमुलक आन्दोलन गर्न सक्दैनौं,’पराजुलीले भने,‘मलाई आशा र पुरा विश्वास छ कि सरकारले पुरै नागरिकको संवेदनशीलतालाई बुझ्दछ र एउटा ऐतिहासिक निर्णय गर्नेछ ।’

prem parajuli1

पराजुलीले विद्यमान कानुन परिवर्तन भएर आफु जस्ता मृगौला रोगीको सफलतापुर्वक प्रत्यारोपण सम्भव भएमा बाँकी जिवन स्पाइनल कर्ड इञ्जुरी भएका व्यक्तिहरुको लागी सानो स्तरमा भएपनि सुविधाजनक अस्पताल बनाउने अभियानमा लाग्ने र मृगौला पीडितहरुको सेवामा समर्पित हुने घोषणा पनि गरेका छन् । समाजसेवामा पनि सक्रिय पराजुलीको बुढासुब्बा मन्दिर अगाडि घर छ । उनको परिवार फुल र पूजा सामग्री बेचेर जिविका चलाउदै आएका थिए । 

करिब ५ बर्ष अघिदेखि पराजुलीकी श्रीमति विमला पनि स्पाइनल कर्ड इञ्जुरीबाट थला परेकी छिन् । श्रीमतिको स्वास्थ्य अवस्थाले चिन्तित पराजुली आफै विगत १५ महिनायता दुवै मृगौला खराब भएको थाह पाएदेखि थप पीडामा छन् । श्रीमतिले मृगौला दान गर्ने भइन्, तर स्पाइनल कर्ड इञ्जुरीले थला परेकी श्रीमतिबाट मृगौला स्वीकार गर्नु नैतिक र मानवीय दृष्टिकोणबाट उचित नभएको पराजुलीले बताए । त्यसपछि छोराले मृगौला दिन तयार भएका थिए । तर प्रत्यारोपण तयारीको क्रममा छेराको मृगौला नमिल्ने भएको पराजुलीले बताए ।

‘परिवारबाट मृगौला लिन सम्भव भएन । कानुनले नचिने पनि समाजमा परिचित मेरो धर्मपुत्रकोरुपमा रहेको सन्तानले स्वतस्फुर्त मलाई मृगौला दान गर्न तयार भएर बसेका छन्, तर परिवारका सदस्यभन्दा बाहिरका व्यक्तिले कानुनीरुपमा दिन नमिल्ने रहेछ,’पराजुलीले भने,‘नागरिकको बाँच्न पाउने हक र अधिकारलाई नेपालको संविधानले मौलिक हककोरुपमा स्वीकार गरेको छ, यद्यपी हालको विद्यमान कानुन सो अनुरुपको नबन्दा म र मजस्ता हजारौं नागरिकहरु आज पलपल मरेर बाँचिरहनु परेको छ ।’