धरान: २१ जुन अर्थात विश्व संगीत दिवसको अवसरमा शुक्रबार धरानमा सांगीतिक कार्यक्रम तथा सम्मान कार्यक्रम हुने भएको छ ।

धरान संगीत प्रतिष्ठानले बिहिबार पत्रकार सम्मेलन गर्दै शुक्रबार साँझ धरान ८ स्थित बराह कम्प्लेक्सको चौथो तलामा विश्व संगीत दिवस मनाउने जानकारी दिएको हो । उक्त कार्यक्रममा नयाँ तथा पुराना पुस्तका गायक र संगीतकर्मीहरुको जमघटसहित सम्मान पनि गरिने प्रतिष्ठानका अध्यक्ष एवं वडा नं २ का अध्यक्षसमेत रहेका रमेश राईले जानकारी दिए । 

अध्यक्ष राईका अनुसार कार्यक्रममा अग्रज र नयाँ पुस्ताका गायक, गायिकाहरुले गीत प्रस्तुत गर्नेछन् । प्रतिष्ठानमा संगीत प्रशिक्षण गरिरहेका नयाँ पुस्तका कलाकारहरुले कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन् भने वरिष्ठ कलाकार दिप श्रेष्ठको पनि प्रस्तुती हुनेछ । कार्यक्रममा धरानको संगीतको क्षेत्रमा लामो समयदेखि योगदान पुर्याएका संगीत प्रशिक्षक सन्दिप श्रेष्ठ र विनोद प्रियदर्शी राईलाई सम्मान गरिने अध्यक्ष राईले जानकारी दिए । 

music day1

कार्यक्रममा संगीतका पारखीहरुलाई निमन्त्रणा गरिने प्रतिष्ठानले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण (पिके) राई रहनेछन् भने प्रतिष्ठानका संरक्षक एवं धरानका मेयर हर्कराज राई पनि अतिथिकोरुपमा उपस्थित हुनेछन् । नयाँ पुस्ताका कलाकारहरु उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको प्रतिष्ठानलाई आवश्यक पर्ने बजेट विनियोजन गर्न पनि अध्यक्ष राईले माग गरेका छन् ।

प्रतिष्ठानका सल्लाहकार एवं वरिष्ठ गायक दिप श्रेष्ठले धरान संगीतको उत्थान भएको र कलाको शक्ति भएको ठाउँ भएकोले संगीतकर्मीहरु परिवार झैं होस् भन्ने आफ्नो चाहना रहेको बताए । साथै उनले धरानका सबै संगीतकर्मीहरु एकजुट हुन पनि आह्वान गरे। भिडियो: