धरान: धरानका वरिष्ठ रङ्गकर्मी तथा नाटककार गोपाल देवान राष्ट्रिय प्रज्ञा पुरस्कार २०८१ बाट सम्मानित तथा पुरस्कृत भएका छन् ।

विगत तीन दशकदेखि मोफसलमा रहेर नेपाली नाट्य क्षेत्रमा उच्च योगदान पुर्याए बापत देवान सम्मानित भएका हुन् । उनलाई नेपाल संगीत तथा नाट्य एकेडमीले नगद एक लाख एक रुपैयासहित राष्ट्रिय प्रज्ञा पुरस्कारबाट सम्मानित गरेको हो । देवानले पत्रकारितासँगै नाट्य क्षेत्रमा पनि उत्रितै योगदान पुर्याएका छन् ।

बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा एक समारोहबीच देवान सम्मानित भएका थिए । उनीसँगै नृत्य, नाटक, संगीतलगायत विभिन्न विधाका ६ जना स्रष्टाहरूलाई राष्ट्रिय पुरस्कारले सम्मानित गरिएको थियो। सम्मानित सबैलाई राष्ट्रपति रामचन्द्र पौडेलले दोसल्ला ओढाउनुका साथै ताम्रपत्र प्रदान गरेका थिए । यस्तै, स्रष्टाहरूलाई एक लाख एक रुपैयाँको चेक पनि पुरस्कारको रुपमा प्रदान गरिएको थियो ।

देवानसँगै राष्ट्रिय प्रज्ञा पुरस्कारबाट रंगमञ्चतर्फ वरिष्ठ रङ्गकर्मी हरिहर शर्मा, शास्त्रिय संगीततर्फ चन्दन कुमार श्रेष्ठ, लोकसंगीत तर्फ बोमबहादुर कार्की, गायन तर्फ वरिष्ठ गायिका तारा थापा, नृत्य तर्फ जोगेन्द्र केसी पनि सम्मानित भएका थिए ।

राष्ट्रपति पौडेलले नेपालको सांस्कृतिक धरोहरलाई विश्वभरि चिनाउन स्रष्टाहरुको भुमिका अविस्मरणीय रहेको बताए । संस्कृति मन्त्री हितमान तामाङले कला संगीत र संस्कृति देशको पहिचान भएकोले राज्यले संरक्षण गर्ने नीति लिएको बताए । एकेडेमीका कुलपति निशा शर्मा पोखरेलले देशका स्रष्टाहरूलाई सम्मान गर्ने परम्पराको थालनी गरेको बताइन् । उनले हालसम्म ५४ जना स्रष्टाहरूलाई राष्ट्रिय प्रज्ञा पुरस्कारबाट सम्मान गरिसकेको पनि जानकारी दिइन् ।