धरान: जिल्ला प्रहरी कार्यालय सुनसरीको नागरिक सुनुवाई कार्यक्रममा प्रमुख अतिथि रहेका धरानका मेयर हर्क साम्पाङ ब्यस्तता देखाउदै आफ्नो कुरा सुनाएर हिडे । कार्यक्रममा वडा १३ का स्थानीयले ग्याबिङ जाली भत्काएर क्षति पुर्याएको बिषयमा कुरा उठाएका थिए, र कारबाही हुन्छ कि हुदैन भन्ने प्रश्न पनि गरेका थिए ।

जवाफले चित्त नबुझाएका वडा १३ का स्थानीयले विरोध गर्दागर्दै कार्यक्रमस्थलबाट मेयर साम्पाङ बाहिरिए । मेयर हिडेपछि मन्तव्यको पालो थियो, बिशिष्ट अतिथि एवं सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी । उनले मेयर साम्पाङ गइसके पनि उनीसम्म कुरा पुर्याइदिनु भन्दै कानुनभन्दा माथि कोही पनि नहुने बताए । घुमाउरो पारामा उनले मेयर साम्पाङलाई कानुन र विधिपुर्वक काम गर्न सुझाव पनि दिए ।

‘अघि केही कुरा आएको छ, यसलाई प्रशासनले नोटिसमा लिएको छ,’ वडा १३ को घटनाप्रति संकेत गर्दै उनले भने,‘उपमेयर हुनुहुन्छ, मेयर जानुभयो, सुनाइदिनु होला । कहिलेकही यो कुर्सीमा को बसेको छ, आज को छ, भोली को आउला तर राज्यले नोटिसमा लिन्छ । जो सुकै किन नहोस्, तपाइ जतिसुकै माथि हुनुस्, कानुन तपाईभन्दा माथि हुन्छ ।’

प्रजिअ तिवारीले कानुन सबैले मान्नुपर्नेमा जोडदिदै धरानका जनप्रतिनिधिले पनि विधिपुर्वक नै काम गरेको छ भन्ने आफुलाई विश्वास रहेको बताए । ‘कानुन माथि छौं भन्ने कसैले नठानुम । म पनि छैन । कानुन र विधि अन्तर्गत नै स्थानीय सरकारलाई म विनम्र विनेदन गरे, ती समस्याहरु सकभर यहाँहरुबाट नै सम्बोधन हुन्छ भन्ने मेरो अपेक्षा छ, निवेदन पनि छ ।’

तिवारीले कुनै दिन कानुनले आफ्नो कोर्ष लिनपनि सक्ने भन्दै त्यसबेला कसैलाई पनि कानुनले नचिन्ने बताए । ‘कुनै दिन यस्तो पनि आउछ, कानुनले आफ्नो कोर्ष लिन्छ, लिनसक्छ । त्यो लिदा मलाई पनि चिन्दैन, अर्कोलाई पनि चिन्दैन,’उनले भने,‘त्यसो हुँदाखेरी हामी सधै विधिमा बस्यौं भने चिन्ने कानुनले हो ।’

प्रदेश सरकारको बजेटबाट निर्माण भएको ग्याबिङजाली मेयर साम्पाङको आदेशमा नगर प्रहरीसहितको टोलीले भत्काइदिएपछि वडा नं १३ कार्यालय र मेयर बीच द्धन्द बढेको छ भने स्थानीय दुई पक्षबीच पनि चर्को विवाद र द्धन्द बढेको छ । उपभोक्ता समितिले सार्वजनिक सम्पत्ति तोडफोड गर्न आदेश दिने मेयर साम्पाङ र संलग्नहरुलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासनमा निवेदन पनि दिएका छन् । मंगलबार स्थानीयबासीले जिल्ला प्रशासनमा पुगेर घेराउ, नाराबाजी पनि गरेका थिए । 

भिडियो: