धरान: मेयर हर्क साम्पाङको कार्यकक्षबाट सञ्चारकर्मी सञ्जिता धमलालाई बलजफ्ती बाहिर निकालेको घटनामा गठित छानबिन समितिले नेपाल प्रहरी र नगर प्रहरीको पनि वयान लिएको छ ।

उक्त घटनाको छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले सहायक प्रजिअ वेदराज फुँयाल संयोजक रहेको ३ सदस्यीय समिति गठन गरेको थियो । समितिमा जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारी र प्रशासकीय अधिकृत केशव खतिवडा सदस्य छन् । उक्त समितिले मंगलबार उक्त घटनामा जोडिएका नगर प्रहरी र ईलाका प्रहरी कार्यालयका प्रहरीहरुको वयान लिएको हो ।

मेयरको कार्यकक्षबाट धमलालाई बाहिर निकाल्न खटिएका महिला नगर प्रहरी र महिला नेपाल प्रहरीलाई छानबिन समितिले ईलाका प्रशासन कार्यालय धरानमा बोलाएर मंगलबार दिनभर वयान लिएको हो । वडा प्रहरी कार्यालय धरानका इञ्चार्ज र नगर प्रहरीका इञ्चार्जको पनि समितिले वयान लिएको छ । प्रहरीले यसअघि सञ्चारकर्मी धमलाको पनि वयान लिइसकेको छ । साथै, उक्त घटनालाई गम्भीरतापुर्वक लिएर राष्ट्रिय मानवअधिकार आयोगले पनि आफ्नो वयान लिएको सञ्चारकर्मी धमलाले सामाजिक सञ्जाल फेसबुकबाटै जानकारी दिएकी थिइन् ।

गएको बुधबार जिल्ला प्रहरी कार्यालयले धरानमा आयोजना गरेको नागरिक सुनुवाईमा जनप्रतिनिधिहरुले नागरिकतामा घुस लिने गरेको सुचना आफुसँग आएको भन्दै चेतावनीशैलीमा सच्चिन भनेकी थिइन् । मेयर साम्पाङले सोही कार्यक्रममा र पछि पनि सामाजिक सञ्जाल फेसबुकमा प्रमाणसहित भेट्न आउन भन्दै स्टाटस लेखेका थिए । 

शुक्रबार मेयरको कार्यकक्षमा पुगेकी धमला र मेयर साम्पाङबीच अमर्यादित तरिकाले चर्काचर्की परेको थियो । त्यसक्रममा मेयर साम्पाङले नेपाल प्रहरी बोलाएर धमलालाई बाहिर निकाल्न निर्देशन दिए । नेपाल प्रहरी र नगर प्रहरीले धमलालाई बलजफ्ती तानेर बाहिर निकाल्ने क्रममा स्थिति तनावपुर्ण बन्यो, र घटनाले अर्कै मोड लियो । 

सञ्चारकर्मी महिला माथि मेयरकै कार्यकक्षमा भएको उक्त घटनालाई जिल्ला प्रशासनले गम्भीरतापुर्वक लिएर तत्कालै छानबिन समिति गठन गरेको थियो । उक्त घटना भए लगत्तै जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी नविन भण्डारी आफै घटनाबारे जानकारी लिन धरान आएका थिए । विभिन्न राजनीतिक दल निकट पत्रकारहरुको संगठनहरुको दबाबको कारणले पनि जिल्ला प्रशासनले छानबिन समिति गठन गरेको हो । गृहमन्त्री रवि लामिछानेले पनि यो घटनामा चासो देखाएपछि प्रशासनले छानबिन समिति गठन गर्न बाध्य भएको हो ।

यो घटनाको भिडियो विभिन्न मिडिया र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि मेयर साम्पाङ र सञ्चारकर्मी धमलाको पक्ष, विपक्षमा समाज ध्रुवीकरण भएको छ । कतिले मेयर साम्पाङले प्रश्न र गुनासो गरेकै आधारमा कार्यकक्षमा बोलाएको र प्रहरी लगाएर लछारपछार गर्दै दुव्यर्वहार गरेको भन्दै चर्को विरोध गरिरहेका छन् भने कतिपयले प्रमाणविना पत्रकारले पनि जथाभावी बोलेको, मेयरको कार्यकक्षमा पनि अशोभनिय व्यवहार र अभिव्यक्ति दिएको भन्दै धमलाको चर्को आलोचना गरिरहेका छन् ।

धमलाको पक्षमा विभिन्न राजनीतिक दल र पत्रकारका संगठनहरुले विज्ञप्ती जारी गरेको थियो । पहाडबाट पढ्न आएका विद्यार्थीहरु यौनधन्दामा लागेको भनेर अपमान गरेको भन्दै महिलाहरु पनि धमलालाई कारबाहीको माग गर्दै आन्दोलित भएका थिए । सामाजिक सञ्जालमा चर्को आलोचना खेपिरहेकी धमलाले शान्ति सुरक्षाको माग गर्दै निवेदन दिइसकेकी छिन् भने प्रहरीमा साइबर क्राइमको जाहेरी पनि दिएकी छिन् । 

गृहमन्त्रीसँग बिच्किए मेयर साम्पाङ

मेयर साम्पाङले धमलालाई कारबाही गर्न अनुरोध गर्दै गृहमन्त्रालयलाई बोधार्थसहित जिल्ला प्रशासन र ईलाका प्रहरी कार्यालय धरानमा पत्राचार गरेका थिए । धमलाले जनप्रतिनिधिलाई विना आधार, प्रमाण नागरिकता घुस लिएको भन्ने आरोप लगाएको र पहाडबाट धरान पढ्न आउने महिलाहरु यौनधन्दामा लागेको भन्ने अपमानजनक अभिव्यक्ति दिएकोले कारबाही गर्न माग गरेका थिए ।

तर, सुनुवाई नभएपछि मेयर साम्पाङले गृहमन्त्री लामिछाने, सिडिओ र पार्टीहरु मिलेर धमलालाई बचाएको हो ? भन्दै फेसबुकमा आक्रोश पोखेका छन् । मेयर साम्पाङले गृहमन्त्री लामिछानेले धरानको हकमा गल्ती गरेको भन्दै लेखेका छन्,‘धरानको हकमा गृहमन्त्री रवि लामेछानेले जाँदाजाँदै ठुलो गल्ती गर्दैछन् । भोली राजनीति गर्ने कि पत्रकारितामा फर्केर उतै जाने हो त्यो दिन यही घटनाले तय गर्नेछ ।’