धरान: धरान १४ स्थित विजयपुरमा पौराणिक महत्वको पिण्डेश्वर महादेवको मन्दिर बाहिर रुद्राक्षको प्रतिमासहित लायन्स वाटिका बनेको छ ।

धरानमा रहेका विभिन्न लायन्सहरु मिलेर पिण्डेश्वर मन्दिरको सरस्वती कुण्ड उत्तर सडक किनारमा लायन्स वाटिका निर्माण गरेको हो । वाटिका निर्माण भएको ठाउँमा विगतमा खुला क्षेत्र थियो, र फोहोरको थुप्रो हुन्थ्यो । उक्त ठाउँ अहिले सुन्दर वाटिकामा परिणत भएको छ । वाटिकाको डिपिआर ईञ्जिनियर सुमन श्रेष्ठले तयार गरेका हुन् । उक्त स्थानमा शनिबार बिहान वृक्षारोपण तथा सरसफाई कार्यक्रम पनि भएको थियो ।

लायन्स र वडा नं १४ को कार्यालयले सहकार्य गरेर विगत २ महिनादेखि वाटिका निर्माण शुरु भएको हो । निर्माण कमिटी अध्यक्ष कविता लिम्बुका अनुसार २५ लाख बराबरको काम गर्ने लक्ष्य रहेको छ । अझै धेरै निर्माण कार्य बाँकी रहेको उनले बताइन् । ‘वडा १४ ले पनि सहयोग गरेको छ । लायन्सका सदस्यहरु, साथीभाईहरुबाट नै पैसा संकलन गरिरहेका छौं । अहिलेसम्म ८ लाख बराबरको काम भएको छ,’ उनले भनिन् । हाल एनसि धरान बुढासुब्बाका सेकेण्ड भिपि जयन्ती लिम्बुको बाबा र फष्ट भिपि अमृता लिम्बुको ससुरा बुबाको स्मृतिमा ५ लाख बराबरको चौतारी पनि निर्माण भइरहेको उनले बताइन् ।

lions1 1

बिशिष्ट अतिथि एवं लायन धिरज गुरुङले सेवाको कार्यमा समर्पित लायन्सले पछिल्लो समयमा धरानमा ब्राण्डिङ गर्ने कार्य गरिरहेको बताए । सेउती पुलमास्तिर वृहत वृक्षारोपण गरेको स्मरण गराउदै उनले उक्त बाटिका पनि लायन्सको मात्र नभएको सम्पुर्ण धरानबासीहरुको भएको बताए । 

‘धराने लायन्सहरुको मात्र प्रतिनिधित्व गर्ने होइन, सबै धरानेहरुको प्रतिनिधित्व यो वाटिकाले गर्छा,’ उनले भने,‘हजारौं तीर्थालुहरु आउने यो ठाउँमा पार्क आवश्यक थियो, र वडाअध्यक्षसँग कुरा गरेर शुरुवात भएको छ । अझै सौन्दर्यकरण गछौं ।’ उनले उक्त वाटिकोको संरक्षण तथा रेखदेखको जिम्मेवारी वडा र स्थानीयबासीहरुको भएको पनि बताए । सम्पुर्ण निर्माण कार्य सम्पन्न भएपछि उद्घाटन गर्ने पनि उनले बताए । 

यस्तै उनले ईलाका प्रहरी कार्यालय परिसरमा निर्माण भएको हिरासत भवनमा रहेका बन्दीहरुको लागि पुस्तकालय निर्माण गर्न पनि सहयोग संकलन अभियान सञ्चालन भइरहेको जानकारी दिएका थिए । साथै, उक्त अभियानका संयोजक सुजेन्द्र गोले तामांगलाई रकम वा पुस्तक सहयोग गर्न आह्वान गरेका थिए । सोही कार्यक्रममा रकम समेत संकलन भएको थियो । 

lions2 1

वडा नं १४ का अध्यक्ष कृष्ण भट्टराईका अनुसार वाटिका निर्माण भएको ठाउँमा विगतमा खाली जमिन थियो, र फोहोर फालिन्थ्यो । ‘फोहोर नफाल्नु भनेर धेरै भन्यौं, सरसफाई अभियानमा लाग्यौं, र पनि भएन,’ उनले भने,‘एकदिन लायन्सका साथीभाई भेटिदा कुरा भयो, र गार्डेन बनाउने भनेपछि स्वीकृति दियौं । यति राम्रो होला भन्ने सोचेकै थिएनौं, अहिले फोहोर पनि फाल्न छोडेको छ ।’

अध्यक्ष भट्टराईका अनुसार उक्त क्षेत्रको सौन्र्दयीकरणको लागि डिपिआर पनि बनाइएको छ । ‘यो क्षेत्रमा वृक्षारोपण गर्ने पनि योजना छ । लायन्स र वडाको सहकार्यमा यो उदाहरणीय काम भएको छ । तर पुरा भइसकेको छैन ।’ लायन्स क्लब अफ धरान बुढासुब्बाकी अध्यक्ष पुनम राईको अध्यक्षतामा वृक्षारोपण तथा सरसफाई कार्यक्रम भएको थियो । 

भिडियो: