धरान: सञ्चारकर्मी सञ्जिता धमलालाई आक्रमण भएको भनिएको घटनामा पक्राउ पर्नेको संख्या ७ पुगेको छ । 

हिजो बुधबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रेडियोलोजी विभागमा एक्स रे गर्न पुगेकी धमलालाई केही महिलाहरुले आक्रमणको प्रयास गरेका थिए । सार्वजनिक भएको सिसिटिभी फुटेजमा महिलाहरुले धमलालाई तानेको र केही व्यक्तिले आएर छुट्याउने क्रममा पुनः विरामीहरुको भिडमा पुगेको देखिन्छ । 

प्रहरीले उक्त घटनामा हिजो नै ५ जना महिलाहरुलाई वीपी प्रतिष्ठानबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय इनरुवा लगेको थियो । आज बिहान पुनः सृर्जना बेघालाई ग्रीन टि पसलबाट प्रहरीले पक्राउ गरेको थियो भने पुर्ण वान्तवालाई माछा भौडीबाट पक्राउ गरेर इनरुवा लगेको थियो । पक्राउ पर्नेहरु सबै मेयर हर्क साम्पाङका समर्थकहरु हुन् । 

srijana purna

आज पक्राउ परेकी बेघा हिजो वीपी प्रतिष्ठानमा पनि थिइन् । इलाका प्रहरी कार्यालय घेराउ र भानुचोकमा आधाघण्टा चक्काजाम गर्न पनि पुगेकी थिइन् । यस्तै, आज पक्राउ परेका वान्तावा भने सिटि सफारी चालक हुन् । उनलाई सिटी सफारी तथा टेम्पो चालकहरुको संघमा वैठक बसिरहेकै ठाउँबाट प्रहरीले पक्राउ गरेको हो । 

उनी हिजो इलाका प्रहरी कार्यालय घेराउ गर्ने क्रममा प्रवेश गेटमा होहल्ला गर्दै जर्बजस्ती भित्र प्रवेश गर्न खोजेको सार्वजनिक भएको भिडियो फुटेजमा देखिन्छ । उक्त भिडियोमा वान्तवासँगै देखिएका अर्का युवा सत्य घलेलाई पनि प्रहरीले खोजी गरिरहेको बताइएको छ। 

अभद्र व्यवहारमा मुद्दा, ७ दिनको म्याद थप

mayor suppertr

पक्राउ गरेका ७ जनालाई अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी नविनकृष्ण भण्डारीले पक्राउ परेका सातै जनालाई अभद्र व्यहवार कसुरमा मुद्दा दर्ता गरिएको बताए । 

साथै जिल्ला प्रशासन कार्यालयबाट हिजो पक्राउ परेका ५ जनालाई ७ दिनको र आज पक्राउ परेका २ जनालाई ६ दिनको म्याद लिएर हिरासतमा राखेर अनुसन्धान गरिरहेको पनि जानकारी दिए । 

ग्रीन टि प्रहरीको उच्च निगरानीमा

mayor & police1 copy

धरान १८ स्थित ट्रष्ट अर्गानिक ग्रिन टि मेयर हर्क साम्पाङ र समर्थकहरु बिहान बेलुकी भेटघाट हुने ठाउँ हो । कार्यालय पछि मेयर साम्पाङलाई यही ठाउँमा भेट्न सकिन्छ भने उनका समर्थकहरु पनि यही हुन्छन् । निक्कै चर्चित यो ग्रिन टि अहिले प्रहरीको उच्च निगरानीमा छ ।

सादा पोशाकका प्रहरी परिचालन भएको छ भने पेट्रोलिङ गर्ने प्रहरी गाडी पनि ग्रीन टि हुदै बाक्लो गरि आवतजावत गरिरहेको छ । प्रहरीले खोजीको सुचीमा रहेका मेयर साम्पाङका समर्थकहरु उक्त ग्रीन टिमा आउनसक्ने आशंका गरेर निगरानी बढाएको हो । आज बिहान सृर्जना बेघालाई प्रहरीले सोही ग्रीन टिबाट पक्राउ गरेको थियो भने मेयर साम्पाङ भएकै बेला ठुलो संख्यामा प्रहरी आएको थियो । मेयर साम्पाङका सहयोगी अगुवाहरुलाई पक्राउ गर्न प्रहरीले निगरानी बढाएको बताइएको छ ।

रिहाईको माग गर्दै भानुचोकमा विरोधसभा

mayor supporter copy

पक्राउ परेकाहरुलाई विनासर्त रिहा गर्न माग गर्दै मेयर साम्पाङका समर्थकहरुले भानुचोकमा विरोधसभा गरेका छन् । बिहान ९ बजेको लागि विरोध कार्यक्रम तय गरिएपनि मध्याह्न १२ बजे मात्र शुरुवात भएको थियो । प्रहरीले धरपकड गर्ने संशयको बीचमा लोकतान्त्रिक चौतारीबाट नाराबाजी गर्दै टोली भानुचोकमा पुगेको थियो । उक्त विरोध कार्यक्रमलाई पहिचानवादी मोर्चा र राष्ट्रिय जनमुक्ति पार्टीले पनि समर्थन गरेको थियो । 

कोणसभालाई सम्बोधन गर्दै वक्ताहरुले पत्रकारको नाम गरेर जथाभावी बोल्ने र धरानको वदनाम गर्ने सञ्जिता धमलाविद्धरु निवेदन दिएपनि उनलाई प्रहरी, प्रशासनले संरक्षण गरेर निर्दोषहरुलाई पक्राउ गरेको भन्दै आक्रोश पोखे । उनीहरुले पक्राउ परेकाहरुलाई तत्काल रिहा नगरे सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिएका थिए । 

भिडियो:

भिडियो: